५ असार २०८३, शुक्रबार

पश्चिम तराईका जिल्लामा तीन दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणद्वारा आज जारी सूचनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको जनाइएको छ। ती प्रदेशको तराईका भूभागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ।

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। चिकित्सकका अनुसार थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन्।

तातो हावाबाट बच्न प्राधिकरणले चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको ढाक्न आग्रह गरेको छ। यस्तै, खुकुलो र हल्का रङको कपडा लगाउने, प्रशस्त पानी पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको सर्बत, कागतीपानी र फलफूल खाने तथा धेरै पसिना आएमा जीवनजल पिउन अनुरोध गरिएको छ। घरमै बनाएको ताजा खानेकुरा खान, सकेसम्म पत्रु खाना नखान, खेतबारी वा बाहिर काम बिहान गर्मी बढ्नुअघि वा दिउँसो शीतल भएपछि मात्र गर्न र बालबालिकालाई चर्को घाममा खेल्न नदिन पनि प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि भनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button