३ असार २०८३, बुधबार

गोरखाको भीमसेनथापा गाउँपालिकाले ल्यायो अक्युपञ्चर सेवा, नसा, जोर्नी र पक्षघातका बिरामी लाभान्वित हुने

गोरखा। गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ। भीमसेनथापा–५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि यो सेवाको थालनी गरिएको हो। जिल्लामै पहिलो पटक भीमसेनथापा गाउँपालिकाले अक्युपञ्चर सेवा सुरु गरेको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले गाउँमा अक्युपञ्चर सेवा सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएकाले उपचारका लागि अन्यत्र धाउन नपर्ने बताए। ‘नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो,’ उनले भने।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरिएको जानकारी दिँदै खनालले स्थानीयस्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको बताए। ‘यसबाट अक्युपञ्चर विधिबाट उपचार गर्न चाहने जिल्लाभरका बिरामी लाभान्वित हुनेछन्,’ उनले भने।

स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार विशेषगरी जीर्ण खालका जोर्नीको दुखाइ, मांसपेशीको दुखाइ तथा विभिन्न किसिमका नसासम्बन्धी समस्या भएका बिरामीका लागि यो सेवा अत्यन्त उपयोगी हुनेछ। साथै, पक्षघातजस्ता जटिल शारीरिक समस्या भएका बिरामीका लागि यो पद्धतिबाट उपचार गर्दा सहज हुने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button