२४ घण्टामा उपत्यकामा १,९२२ सवारी चालक कारबाहीमा, १९ लाख ७० हजार राजस्व सङ्कलन

काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ। सो कारबाहीबाट १९ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११८, राइड सेयरिङमा १९८, रातो बत्ती उल्लङ्घनमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फी उल्लङ्घनमा १०५ र अन्य विभिन्न कसुरमा ९८६ जनालाई कारबाही गरिएको हो।
यसैबीच, काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारी चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेका बेला काठमाडौँको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा उनीहरू पक्राउ परेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो। नियन्त्रणमा परेकामध्ये दुई जना बस चालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक तथा एक जना हात्ती भ्यान चालक रहेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले संयुक्त टोलीको चेकिङका क्रममा चालकको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए। ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरेको छ।





