पाँचथरको याङवरकमा बाढीपहिरोले ठूलो क्षति, घर, पुल र सडक बगाए, मध्यपहाडी लोकमार्ग अवरुद्ध

पाँचथर। अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। याङवरक–१, २ र ३ मा बाढीपहिरोले घरगोठ, सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढीपहिरोले वडा नम्बर १ का दुई घर तथा वडा नम्बर १ र २ का गरी तीन झोलुङ्गे पुल बगाएको छ। हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उनले जानकारी दिए। बाढीपहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। याङवरक–३ स्थित रिजाल भीरमा पहिरो झरेको छ भने वडा नम्बर २ को दोभानेस्थित डाइभर्सन पूर्ण रूपमा बगाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ। सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई घर बगाएको जानकारी आएको उनले बताए।
यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रससमेत बाढीले बगाएको प्रहरीले जनाएको छ। हेँवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ। गएरातिको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए।





