१५ असार २०८३, सोमबार

राष्ट्र बैंकको नयाँ निर्देशन : ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशिक्षित व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता, हरेक पालिकामा कम्तीमा एक अपाङ्गमैत्री शाखा अनिवार्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न भनेको छ। इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस्ता शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले ‘एटीएम लाउन्ज’ भएका स्थानमा ब्रेल लिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटीएम राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ।

आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने नयाँ व्यवस्था छ। त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ। साथै, कार्यालय समयका अतिरिक्त समयमा काम गर्न कर्मचारी बाध्य नहुने र बाध्य पार्न नपाइनेसमेत निर्देशनमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button