१५ असार २०८३, सोमबार

रास्वपाको विस्तारित बैठकमा हात हालाहाल, सांसदहरू प्रहरीको सुरक्षामा बाहिरिए

कलैया — बाराको कलैयामा शनिबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा दुई पक्षबीच होहल्लासँगै हात हालाहाल भएको छ। विवादले झडपको स्थिति बनेपछि प्रहरीले बैठकमा उपस्थित सांसदलगायतलाई सुरक्षित बाहिर पठाएको थियो। पार्टीको विस्तारित बैठकमा भएको विवाद र झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उच्छृङ्खल नाराबाजीसहित हातमा लठ्ठी बोकेका कार्यकर्ता उग्ररूपमा प्रस्तुत भएको भिडियोमा देखिन्छ।

रास्वपाका जिल्ला संयोजक चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरेपछि विवाद बढेको थियो। चुनावमा पार्टीविरुद्ध गतिविधि गरेको र पार्टीको आडमा आर्थिक लाभ लिएको भन्दै पार्टीले उनलाई कारबाही गर्दै निष्कासन गरेको थियो। सोही विषयलाई लिएर करणराज होटलमा भइरहेको बैठकमा स्वर्णकार पक्षीय कार्यकर्ता बैठक स्थलमा प्रवेश गरी हुटिङ गर्दै होहल्ला मचाएका थिए। उनीहरूलाई प्रहरी लगाएर बाहिर निकाल्न लगाउने क्रममा हात हालाहालसमेत भएको थियो। त्यसपछि बैठकमा सहभागी बाराका चारै जना रास्वपा सांसद गणेश धिमाल, चन्दन सिंह, अरविन्द साह र रहबर अन्सारी प्रहरीको सुरक्षामा बाहिरिएका थिए। कार्यकर्ताबीच चर्काचर्की हुन थालेपछि सांसदहरूलाई सुरक्षित गाडीमा राखेर पठाइएको थियो।

बैठकमा सहभागी सांसद चन्दन सिंहले भने त्यस्तो होहल्ला र हात हालाहाल नभएको दाबी गर्दै बैठक सौहार्द्रपूर्ण रूपमा सम्पन्न भएको बताए। रास्वपाका मधेश प्रदेश अध्यक्ष तपेश्वर रायले पार्टीमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद भएको जानकारी दिए। ‘म पनि पर्सामा पार्टीको कार्यक्रममा छु। त्यहाँको पछिल्लो अवस्थाबारे मैले बुझ्नै पर्छ,’ उनले भने, ‘दुवैको टिम नमिलेको भन्ने सुनेको छु। केही कार्यकर्तामा चर्काचर्की भएपछि विवाद भएको हो।’

जिल्ला प्रहरी बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले पार्टीको आन्तरिक विवादका कारण केहीबेर स्थिति अशान्त बने पनि अवस्था सामान्य भइसकेको जानकारी दिए। ‘अहिले अवस्था शान्त भइसकेको छ। बैठकको हल सानो र कार्यकर्ता धेरै भएर भीड भएकोले समस्या देखियो,’ उनले भने, ‘उहाँहरूको आन्तरिक नै केही हुनु पर्छ।’

कार्यसमिति अधिवेशन र विस्तारित बैठक अगावै आफूलाई षड्यन्त्रपूर्वक पार्टीको साधारण सदस्यबाट हटाइएको भन्दै स्वर्णकार असन्तुष्ट थिए। उनका समर्थकसमेत यही विषयमा आक्रोशित देखिएका छन्। स्वर्णकारले आफूमाथि पूर्वाग्रही व्यवहार गरेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button