१५ असार २०८३, सोमबार

‘मदन भण्डारीका विचार वर्तमान राजनीतिमा अत्यावश्यक छन्’ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समानुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छन्।

शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताइन्। उनले भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरूको काँधमा आएको बताइन्।

छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उनले उल्लेख गरिन्। उनका अनुसार मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति हुन्।

पूर्वराष्ट्रपति भण्डारीले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने उल्लेख गरिन्। लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको बताउँदै उनले मदन भण्डारीले लिएका बाटोमा हिँड्न आग्रह गरिन्।

युवाहरूलाई सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास भएकाले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न सुझाव दिँदै पूर्वराष्ट्रपति भण्डारीले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक तथा रचनात्मक ढंगले आत्मसात गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख दायित्व भएको बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button