स्टारोबेल्स्क आक्रमणबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसको आपत्कालीन बैठक आह्वान, ‘यो युद्ध अपराध हो’

न्युयोर्क — संयुक्त राष्ट्रसंघका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले शुक्रबार स्टारोबेल्स्कमा भएको आक्रमणपछि सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउँदै उक्त घटनालाई युद्ध अपराधको संज्ञा दिएका छन्। नेबेन्जियाले भने, ‘आज हामीले नव-नाजी किएभ शासनद्वारा रुसी नागरिकविरुद्ध गरिएको अर्को भीषण आतङ्कवादी आक्रमणको सम्बन्धमा सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएका छौं।’
उनले मे २२ को बिहानै युक्रेनी सेनाले चार स्थिरपङ्खी ड्रोन प्रयोग गरी लुगान्स्क राज्य शैक्षणिक विश्वविद्यालयको स्टारोबेल्स्क कलेजको प्रशासनिक भवन र छात्रावासमा लक्षित आक्रमण गरेको जानकारी दिए। हालसम्म प्राप्त विवरण अनुसार घटनाको समयमा छात्रावास भवनमा १४ देखि १८ वर्ष उमेरका ८६ विद्यार्थी र एक कर्मचारी रहेकोमा आक्रमणबाट पाँच तले भवन दोस्रो तलासम्म भत्किएको थियो। दिउँसो ३ बजेसम्म ६ जनाको मृत्यु पुष्टि भएको र ४० भन्दा बढी बालबालिका विभिन्न मात्रामा घाइते भएको उनले जानकारी दिए। दुर्भाग्यवश, यो सङ्ख्या अझै बढ्न सक्ने बताउँदै उनले केही बालबालिकाको अवस्था गम्भीर रहेको र भग्नावशेषमुनि अझै बालबालिका रहेकाले बेपत्ताको खोजी जारी रहेको बताए।
रुसी राजदूतले भने, ‘यसरी, यो बालबालिका बस्ने र पढ्ने नागरिक सुविधालाई लक्षित गरी गरिएको सुनियोजित आक्रमण थियो। यो आक्रमण रातको समयमा गरिएको थियो, जब छात्रावास भरिभराउ थियो र यो स्पष्ट रूपमा सकेसम्म धेरै हताहती गर्ने उद्देश्यले गरिएको थियो। अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार यो युद्ध अपराध हो।’
नेबेन्जियाले यो आक्रमण कुनै पनि हालतमा आकस्मिक हुन नसक्ने बताए। उनले भने, ‘एउटै स्थानमा तीन लहरमा ड्रोन आक्रमण भएको थियो। यो कलेजमाथिको ड्रोन आक्रमण वायु रक्षा वा रेडियो इलेक्ट्रोनिक युद्ध प्रणालीको परिणाम पनि हुन सक्दैन, जसरी किएभले तुरुन्तै दाबी गर्यो। भवनभित्र रहेकामध्ये कोही पनि शत्रुतामा संलग्न थिएनन् र हुन पनि सक्दैनथे, र कलेज नजिक कुनै सैन्य संरचना पनि छैन। यो सुतिरहेका बालबालिकामाथिको आक्रमण थियो र यो किएभ शासनको कायर, आतङ्ककारी र मानवता विरोधी चरित्रको अर्को प्रमाण हो।’
रुसी राजदूतले नेटो देशहरूले किएभ शासनलाई आपूर्ति गरेका ड्रोनसहितका लामो दूरीका हतियारहरू निश्चित नेटो सदस्य राष्ट्रका विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको दाबी गरे। पश्चिमा राजधानीहरूले युक्रेनी सशस्त्र बललाई गुप्तचर जानकारी र लक्ष्य पहिचानमा सहयोग गरिरहेको प्रमाणित जानकारी आफूहरूसँग रहेको उनले बताए।
नेबेन्जियाले अप्रिल महिनामा मात्र युक्रेनी लडाकुहरूको आपराधिक कार्यबाट कम्तीमा १०० जना नागरिक (८ बालबालिका सहित) मारिएको र ६६७ जना (३४ नाबालक सहित) घाइते भएको तथ्याङ्क प्रस्तुत गरे। पछिल्लो एक सातामा युक्रेनी राष्ट्रवादीहरूको निरन्तर गोलाबारी र ड्रोन आक्रमणबाट २३४ रुसी नागरिक प्रभावित भएकोमा २०३ जना घाइते (१८ बालबालिका सहित) र ३१ जनाको मृत्यु (२ बालबालिका सहित) भएको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय सङ्गठनहरू, राष्ट्रिय सरकारहरू र विश्वव्यापी समुदायलाई जेलेन्स्की शासनको आपराधिक कार्यको स्पष्ट मूल्याङ्कन गर्न र स्टारोबेल्स्कको रक्तरञ्जित आतङ्कवादी आक्रमणको कडा निन्दा गर्न आह्वान गर्दै नेबेन्जियाले चेतावनी दिए, ‘मौनता किएभका आतङ्ककारीहरूको क्रूर कार्यमा संलग्नता र मारिएका तथा घाइते भएका सबै निर्दोष बालबालिकाको दुर्दशाप्रतिको उदासीनता सरह हुनेछ।’





