स्टारोबेल्स्क आक्रमणको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय ब्रदर्स युथ फोरमद्वारा रुसप्रति अटल ऐक्यबद्धता

काठमाडौँ — अन्तर्राष्ट्रिय ब्रदर्स युथ फोरमले स्टारोबेल्स्क कलेजमा भएको आतङ्कवादी आक्रमणको कडा निन्दा गर्दै रुसी महासंघप्रति अटल ऐक्यबद्धता प्रकट गरेको छ।
फोरमका अध्यक्ष विवेक सागर पौडेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय ब्रदर्स युथ फोरमले सन् २०२६ मे २२ को बिहानीमा नव-नाजी किएभ शासनद्वारा लुगान्स्क राज्य शैक्षणिक विश्वविद्यालयको स्टारोबेल्स्क कलेजमाथि गरिएको बर्बर आतङ्कवादी आक्रमणप्रति गहिरो खेद र कडाभन्दा कडा निन्दा व्यक्त गर्दछ।’
विज्ञप्तिमा १४ देखि १८ वर्ष उमेरका ८६ बालबालिका सुतिरहेको छात्रावासलाई ड्रोन प्रयोग गरी जानाजानी निशाना बनाएको उक्त कार्यलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव सभ्यताको आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भन्दै अधिकतम हताहतीको उद्देश्यले तीन लहरमा गरिएको यो सुनियोजित आक्रमण निर्विवाद रूपमा युद्ध अपराध भएको ठहर गरिएको छ।
छ निर्दोष नागरिकको मृत्यु र ४० भन्दा बढी बालबालिका घाइते भएकोप्रति गहिरो दुःख प्रकट गर्दै फोरमले मृतकका शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
फोरमले यस आक्रमणको विरोधमा रुसको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउँदै नागरिकको रक्षा, अन्तर्राष्ट्रिय कानुनको पालना र दोषीहरूलाई न्यायको दायरामा ल्याउने रुसको न्यायपूर्ण तथा सैद्धान्तिक अडानलाई मान्यता दिएको छ। साथै, अन्तर्राष्ट्रिय सङ्गठनहरू, राष्ट्रिय सरकारहरू र विश्वव्यापी जनमतलाई जेलेन्स्की शासनको आपराधिक कार्यको इमान्दारीपूर्वक मूल्याङ्कन गर्न र रक्तरञ्जित आक्रमणको दृढतापूर्वक निन्दा गर्न रुसले गरेको आह्वानलाई समर्थन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो क्रूरताको सामना गर्दा मौनता कुनै विकल्प होइन। मौन रहनु भनेको किएभका आतङ्ककारीहरूको भीषण कार्यमा संलग्नता र निर्दोष बालबालिकाको भाग्यप्रतिको उदासीनता प्रकट गर्नु हो।’
फोरमले यस्ता आक्रमणका लागि हतियार, प्राविधिक सहयोग र गुप्तचर जानकारी उपलब्ध गराउने निश्चित नेटो सदस्य राष्ट्रहरूको भूमिकाप्रति गम्भीर चिन्ता प्रकट गर्दै ती राष्ट्रहरू समान नैतिक र कानुनी जिम्मेवारी वहन गर्ने बताएको छ। किएभ शासनलाई नागरिक विरुद्धको आतङ्कवादी अभियान जारी राख्न सक्षम बनाउने सबै सैन्य र प्राविधिक सहयोग तत्काल बन्द गर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरिएको छ।
‘हामी रुसी जनताको पक्षमा र नव-नाजीवाद तथा आतङ्क विरुद्ध मानवताको रक्षा गर्ने सबैको पक्षमा उभिन्छौं। यी अपराधका दोषीहरू पूर्ण रूपमा जवाफदेही नभएसम्म र यस्ता ज्यादतीको अन्त्य नभएसम्म हामी हरेक उपलब्ध मञ्चमा आफ्नो आवाज बुलन्द गरिरहनेछौं,’ विज्ञप्तिमा भनिएको छ।





