कीओच बाल अस्पतालको नवनिर्मित भवन हस्तान्तरण, जगद्गुरु शंकराचार्यद्वारा उद्घाटन

काठमाडौँ — काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कीओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ। बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा रहेको सो भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन्।
आज आयोजित कार्यक्रममा जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारतीले उक्त भवनको उद्घाटन गरे। व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले भवन निर्माणका लागि ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ खर्च गरेको थियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताइन्। अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रूपमा रहेको यस संस्थाले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने बताए। व्यवसायी गुरुङले सर्वसाधारण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ। उक्त इन्स्टिच्युटले काठमाडौँ उपत्यकामा विशिष्टीकृत सेवासहित बाल अस्पताल तथा सातै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ।
देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यसाथ उक्त अस्पताल स्थापना गरिएको हो।





