२१ जेष्ठ २०८३, बिहीबार

नेपाल वाङ्मय परिषदद्वारा २०८२ का सम्मान तथा पुरस्कार घोषणा, अधिवक्ता लामिछानेलाई वाङ्मय साधना सम्मान

धनगढी — नेपाल वाङ्मय परिषद, धनगढी कैलालीले वि.सं. २०८२ का लागि प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टा तथा व्यक्तित्वहरूको नाम घोषणा गरेको छ। परिषदले नेपाली भाषा, मातृभाषा, लघुकथा, साहित्यिक साधना तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई यस वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

परिषदका अध्यक्ष डा. पुष्करराज भट्टका अनुसार यस वर्षको नेपाली वाङ्मय साधना सम्मान २०८२ ड्रागन मिडियाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता मनोहर लामिछानेलाई प्रदान गरिने भएको छ। सल्यान घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका लामिछानेलाई नेपाली वाङ्मय तथा सामाजिक बौद्धिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानित गर्न लागिएको परिषदले जनाएको छ।

त्यसैगरी, मातृभाषा वाङ्मय साधना सम्मान २०८२ रामेछाप घर भई काठमाडौंमा बसोबास गर्दै आएका अमृत योञ्जन तामाङलाई प्रदान गरिने भएको छ। मातृभाषा, भाषा संस्कृति र साहित्यिक साधनामा सक्रिय योगदानका आधारमा उनलाई यो सम्मानका लागि छनोट गरिएको हो।

लघुकथा विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई प्रदान गरिने दुई छुट्टाछुट्टै सम्मान पनि परिषदले घोषणा गरेको छ। यसअनुसार पद्मा रामचन्द्र लघुकथा सम्मान २०८२ झापा घर भई काठमाडौंमा बस्दै आएका अच्युत घिमिरेलाई प्रदान गरिने भएको छ। त्यस्तै, राधिका गोपालदत्त लघुकथा सम्मान २०८२ मोरङ घर भई काठमाडौंमा रहँदै आएका महेश प्रसाईंलाई प्रदान गर्ने निर्णय गरिएको छ। परिषदले लघुकथा लेखन, प्रवर्द्धन र साहित्यिक सक्रियताका आधारमा दुवै जनालाई सम्मानका लागि चयन गरिएको जनाएको छ।

यस वर्षको कर्मयोद्धा सिर्जना सम्मान २०८२ बैतडीका कर्ण दयाललाई प्रदान गरिने भएको छ। सिर्जनात्मक कर्म, साहित्यिक सक्रियता तथा सामाजिक योगदानको मूल्याङ्कन गर्दै दयाललाई सम्मान गर्ने निर्णय गरिएको परिषदले जनाएको छ।

परिषदका अध्यक्ष डा. भट्टले घोषित सम्मान तथा पुरस्कारले साहित्यिक साधना, मातृभाषा संरक्षण र सिर्जनात्मक कर्मप्रति थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको मिति, स्थान र अन्य औपचारिक विवरण भने पछि सार्वजनिक गरिने परिषदले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button