‘अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने नै बैठकको मूल धारणा हो’ : एमाले सचिव भट्ट

काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठेको भन्ने चर्चा वास्तविकताभन्दा फरक रूपमा प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। शुक्रबार सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी बैठकभित्र विभिन्न धारणा र समीक्षा हुनु स्वाभाविक प्रक्रिया भएको बताए।
‘बैठकभित्र विभिन्न विषयमा छलफल हुन्छन्। तर पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्नु उचित हुँदैन,’ सचिव भट्टले भने। उनले पार्टीभित्र नेतृत्वका कमजोरी, रणनीति र कार्यशैलीबारे समीक्षा भए पनि अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व छाड्नुपर्ने खालको कुरा नउठेको स्पष्ट पारे।
उनका अनुसार बैठकको मुख्य भावना पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने रहेको थियो। ‘पार्टीका कमीकमजोरी कहाँ छन्, त्यसको समीक्षा गरेर सुधार गर्दै अध्यक्षकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने धारणा नै बैठकमा देखियो,’ उनले भने।
सचिव भट्टले पार्टीभित्र अनुशासन, विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै नेताले आफ्ना धारणा पार्टी कमिटीभित्रै राख्नुपर्ने बताए। उनले एमालेलाई एकताबद्ध बनाएर आगामी राजनीतिक चुनौती सामना गर्नुपर्नेमा समेत जोड दिए।





