तमोर करिडोरको निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो, करोडौंको क्षति

ताप्लेजुङ — तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले बगाएको छ।
आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल करिब आठ वर्षअघि निर्माण सुरु गरिएको थियो। हालसम्म करिब ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको थियो। बाढीले ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए।
गाउँपालिकाको टोलीले शनिबार घटनास्थल पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा २२ करोड पाँच लाख ७७ हजार ८९० रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता गरेर काम गरिरहेको थियो।





