विटुमिन अभावले एसियन हाइवेको काँकरभिट्टा-लौकही खण्डमा कालोपत्र प्रभावित

इटहरी — सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अघि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ।
आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले विटुमिन अभाव तथा गुणस्तरीय नपाएका कारण कालोपत्र प्रभावित भएको बताए। उनका अनुसार दुई महिनाअघिसम्म प्रतिलिटर १०० देखि ११० रुपैयाँमा पाइरहेको भारतीय विटुमिन अहिले १५० रुपैयाँभन्दा बढी मूल्य पर्न थालेको छ। नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य अप्रत्यासित रूपमा बढेको जनाएको छ।
निर्माण सुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए। विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेको र हाल ओभरपास, अन्डरपास, वेस, सबवेस, नालालगायत संरचना निर्माण तीव्र रूपमा भइरहेको उनले बताए।
एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५.७६ किलोमिटर सडक मात्र ठेक्का लागेर काम भइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भने, ‘पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ। निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउनेछ।’ उनका अनुसार एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ २०८० माघ १९ गतेदेखि सडक निर्माण सुरु भएको थियो।





