वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात, १५ प्रतिशतले वृद्धि

वीरगन्ज — वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए। उनका अनुसार चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षको १० महिनामा भने छ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको थियो।
चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ। त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान, ५७ अर्ब ६६ करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा र ५५ अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ।





