५ असार २०८३, शुक्रबार

ह्वाइट हाउस बाहिर फेरि गोलीकाण्ड, एक सन्दिग्धको मृत्यु, एक सर्वसाधारण घाइते

वासिङ्टन — ह्वाइट हाउस बाहिर शनिबार साँझ फेरि गोली चलेको छ। युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका अनुसार गोली चलाउने एक सन्दिग्ध व्यक्तिको मृत्यु भएको छ भने एक सर्वसाधारण घाइते भएका छन्।

घटनापछि ह्वाइट हाउस क्षेत्र केही समयका लागि ‘सिल’ गरिएको थियो, जुन अहिले हटाइसकिएको जनाइएको छ। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेको बताइएको छ। सेक्रेट सर्भिसका अनुसार सुरक्षामा रहेका कुनै पनि व्यक्ति वा सरकारी अधिकारी गोलीकाण्डबाट प्रभावित भएका छैनन्।

स्थानीय समयअनुसार साँझ करिब ६ बजे ह्वाइट हाउस परिसरमा रहेका पत्रकारहरूले लगातार गोली चलेको आवाज सुनेका थिए। त्यसपछि सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले पत्रकारहरूलाई तुरुन्त भवनभित्रको प्रेस ब्रिफिङ कक्षमा लगेर सम्पूर्ण ह्वाइट हाउस क्षेत्र सिल गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार १५ देखि ३० राउन्डसम्म गोली चलेको थियो। प्रारम्भिक जानकारीअनुसार एक जना बन्दुकधारी सेक्रेट सर्भिस एजेन्टतर्फ अघि बढेका थिए र उनीमाथि गोली चलाइएको थियो। तर, एजेन्टहरूलाई गोली नलागेपछि उनीहरूले जवाफी कारबाही गरेका थिए।

पछिल्लो विवरणअनुसार घटनामा दुई जना घाइते भएका छन् र दुवैलाई अस्पताल लगिएको छ। सीबीएस न्युजका अनुसार घाइतेमध्ये एक जना सन्दिग्ध व्यक्ति हुन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ भने अर्का घाइते सम्भावित सर्वसाधारण हुन्।

राष्ट्रपति ट्रम्पलाई घटनाबारे जानकारी गराइएको थियो। उनले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। यो घटना ‘ह्वाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनर’ कार्यक्रम भइरहेका बेला बाहिर एक बन्दुकधारीले गोली चलाएको ठीक एक महिनापछि भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button