१५ असार २०८३, सोमबार

‘प्रकृतिमाथि प्रभुत्व होइन, सहअस्तित्व आवश्यक छ’ : पूर्वराजदूत ओलीद्वारा सिचाङको पर्यावरणीय सभ्यताको प्रशंसा

ल्हासा — चीनका लागि पूर्व नेपाली राजदूत कृष्णप्रसाद ओलीले सिचाङ (तिब्बत) केन्द्रित ‘पर्यावरणीय सभ्यता’ अवधारणाको प्रशंसा गरेका छन्। सिचाङ ‘शान्तिपूर्ण मुक्ति’ को ७५ वर्ष पुगेको अवसरमा ल्हासामा आज आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा उनले बौद्ध, ताओवाद र हिन्दु दर्शनलाई आधार बनाएर चीनले अघि बढाएको पर्यावरणीय मोडलको चर्चा गरेका हुन्।

सिचाङ विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्दै उनले मानव र प्रकृतिबीचको अन्तरनिर्भरतालाई आधुनिक विश्वले पुनः आत्मसात गर्नुपर्नेमा जोड दिए। ओलीले बौद्ध दर्शनको ‘अहिंसा’, ताओवादको ‘वु वेई’ तथा हिन्दु दर्शनको ‘वसुधैव कुटुम्बकम्’ अवधारणालाई पर्यावरणीय सभ्यताको नैतिक आधारका रूपमा व्याख्या गरे। चीनले ‘इकोलोजिकल सिभिलाइजेसन’ अर्थात् पर्यावरणीय सभ्यतालाई राष्ट्रिय विकास रणनीतिको रूपमा अघि बढाएको उल्लेख गर्दै उनले सिचाङ क्षेत्रमा जैविक विविधता संरक्षण, घाँसे मैदान पुनःस्थापना तथा हरित ऊर्जा विस्तारमा काम भइरहेको बताए।

सोही सन्दर्भमा उनले नेपाल, भारत र श्रीलंकाले पनि धार्मिक–दार्शनिक परम्परालाई वातावरण संरक्षणसँग जोडेर अघि बढ्न खोजेको उदाहरण प्रस्तुत गरे। नेपालमा सामुदायिक वन, भारतमा नदी संरक्षण अभियान तथा श्रीलंकामा बौद्ध नैतिकतामा आधारित वातावरणीय अभ्यासको उनले चर्चा गरे।

ओलीले सिचाङलाई ‘विश्वको छानो’ र ‘तेस्रो ध्रुव’ को संज्ञा दिँदै त्यहाँका हिमनदीहरूले एसियाका अर्बौं मानिसलाई पानी उपलब्ध गराउने भएकाले यसको संरक्षण विश्वकै साझा दायित्व भएको बताए। ल्हासामा देखिएको नाङ्गो पहाडमा हरियालीकरण, जलविद्युत् क्षमता विस्तार, सौर्य र वायु ऊर्जामा चीनले गरेको लगानी र प्राप्त उपलब्धिको पनि उनले प्रशंसा गरे। ‘प्रकृतिमाथि प्रभुत्व होइन, सहअस्तित्व आवश्यक छ,’ उनले भने। एसियाली सभ्यताले दिएको दार्शनिक शिक्षाबाट भविष्यको पर्यावरणीय सभ्यता निर्माण गर्नुपर्ने उनको निष्कर्ष छ। तीन सयभन्दा बढी वैज्ञानिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको कार्यक्रममा २५ अन्तर्राष्ट्रिय विज्ञ सहभागी थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button