रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाने, मोदी र जयशंकरसँग भेटवार्ता हुने

काठमाडौँ — सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा नै भ्रमण कार्यक्रम बनेको रास्वपा स्रोतले बताएको छ।
रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन्। भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको छ। खनाल आउँदो जेठ १८ गते ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा थिए। तर, उक्त सम्मेलन नै स्थगित भएपछि खनाल रोकिएका हुन्।
रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको भ्रमणका लागि निम्तो दिएको छ। सभापति लामिछाने पनि जेठ १८ कै आसपास भारत जाने तयारी रहेको स्रोतले बतायो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्।
नयाँ सरकार गठनपश्चात दुई देशबीच आपसी सम्बन्ध चिसिन थालेको चर्चाबीच सभापति लामिछानेको यो भेटलाई महत्त्वका साथ हेरिएको छ। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो। तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन। विगतमा जस्तै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउन मोदी सरकार आतुर छ। तर, प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुन देशमा पनि भ्रमण गर्न सकिने मनस्थितिमा रहेका छन्।
शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए। तर, प्रधानमन्त्री शाहको भेट नपाउने भएपछि भ्रमण रद्द गरिएको थियो। प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तलका विदेशी दूतलाई अत्यावश्यक अवस्थामा बाहेक नभेट्ने प्रोटोकल बनाएका छन्।





