१५ असार २०८३, सोमबार

आगामी बजेट कार्यान्वयनमुखी र नतिजामुखी बनाइने : मन्त्री कार्की

दाङ — लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताएका छन्।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका सङ्कल्प र प्रदेश सभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने बताए।

उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिए। कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो। मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए।

बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए। छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल समाप्त भएको घोषणा गरे। प्रदेश सभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्ने छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button