१५ असार २०८३, सोमबार

‘सरकारलाई संसदप्रति जवाफदेही बनाउन संघर्ष जारी राख्छौं’ : विपक्षी चार दलको निर्णय

काठमाडौँ — विपक्षी चार दलले संसदमा आफ्नो भूमिकालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गर्दै सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रयास जारी राख्ने निर्णय गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको कांग्रेस प्रमुख सचेतक वासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुश्बु ओलीको छलफलले उक्त निर्णय गरेको हो। नेकपाका प्रमुख सचेतक दुलालले संविधान र संसद नियमावलीको कार्यान्वयनका लागि विपक्षी दलले संसदमा संघर्ष जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए।

सरकारको नीति कार्यक्रम नै बहिष्कार गरेका प्रधानमन्त्री बालेन्द्र शाह त्यसयता संसदमा उपस्थित भएका छैनन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले महिनाको एक पटक संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने नियमावलीको व्यवस्था कार्यान्वयनको माग गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको मागलाई बेवास्ता गर्दै सदन सञ्चालन गरेपछि कांग्रेस, एमाले, नेकपा र राप्रपाले संसदमा अवरोध गरेका थिए।

राप्रपाकी ओलीले विपक्षी दलहरूको सहकार्यलाई मजबुत बनाउने विषयमा पनि कुराकानी भएको बताइन्। चार दलले सरकारलाई संसदीय मर्यादा र नियमावलीको पालना गराउन संयुक्त रूपमा दबाब जारी राख्ने सहमति गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button