१५ असार २०८३, सोमबार

‘५० हजार र रक्सीको बोतलले मिडिया किन्न खोजियो’ : जनआस्थामाथि सुनियोजित षड्यन्त्रको पर्दाफास

काठमाडौँ — पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुधन गुरुङविरुद्ध व्यापक जनमत बनाउने नाममा जनआस्था साप्ताहिकविरुद्ध सुनियोजित षड्यन्त्र भएको खुलासा भएको छ। जेठ ८ गते शुक्रबार बिहान जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई चिनियाँ नम्बरबाट फोन गरी एक व्यक्तिले सुधन गुरुङविरुद्ध नकारात्मक माहोल बनाउन नेपालका सबै मिडिया परिचालनको प्रस्ताव गरेको थियो।

सौरभ यादवको नाममा दर्ता रहेको चिनियाँ नम्बरबाट आफूलाई ‘मिस्टर यिङ’ बताउने व्यक्तिले पहिले हङकङबाट कृष्णबहादुर महरालाई फसाएकै शैलीमा सम्पर्क गरेको थियो। ‘सुधन गुरुङलाई ड्यामेज गर्न एक लाख पठाउँदै छौं, दश लाख अर्को हप्ता दिन्छौं’ भन्दै म्यासेज आएको र जवाफ नदिएपछि शेरबहादुर देउवालाई नेपाल बोलाएर केपी ओलीसँग भेटाउने र बालेन सरकार ढाल्न सहयोग गर्नुपर्ने अर्को प्रस्ताव आएको थियो। ‘त्यो काम हाम्रो होइन, हामी मिडियाकर्मी हौं’ भन्ने जवाफपछि प्रलोभन थप बढाइयो। शुक्रबार अपरान्ह ५:१२ बजे ‘सेतो सारस’ नामधारी एक युवतीले मास्क र कालो चश्मा लगाएर सानेपास्थित जनआस्था कार्यालयको गेटमा एक बोतल रक्सी र ५० हजार नगद राखेर गएको घटना सीसीटीभीमा कैद भएको छ।

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठका अनुसार उक्त घटनाबारे नेपाल प्रहरीका सम्बद्ध उच्च अधिकारीहरूलाई जानकारी गराइसकिएको र षड्यन्त्रकारी पत्ता लगाउन प्रहरीमा जाहेरी दिइएको छ। नगद र रक्सी फिर्ता लैजान र आइन्दा यस्ता कुरा नगर्न भनिएको प्रमाण प्रहरीसँग सुरक्षित रहेको उनले बताए। प्रारम्भिक अनुसन्धानबाट सुधनविरुद्ध माहोल बनाउने नाममा जनआस्थालाई बदनाम गर्ने षड्यन्त्रमा नेपालकै केही पत्रकार र माफियाको संलग्नता देखिएको जनाइएको छ। हिजोदेखि नै अनुसन्धान सुरु भएको र ‘सेतो सारस’ को खोजी भइरहेको जानकारी प्राप्त भएको छ।

जनआस्थाले यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन नेपाल सरकार र रास्वपासँग आग्रह गरेको छ। ‘यो केवल एक व्यक्तिमाथिको प्रहार होइन, पत्रकारितामाथिकै संगठित आक्रमण हो। यस प्रकरणको निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्छ,’ जनआस्थाले भनेको छ। साथै, करोडौंको खाली चेकमा नबिकेको मिडियालाई ५० हजार नगद र एक बोतल रक्सीले किन्न नसकिने चेतावनी दिँदै जनआस्थाले आफू आदर्शमा पहाडझैं अडिग रहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button