बाजुरा–हुम्ला सीमा विवाद समाधानका लागि सरकारद्वारा प्राविधिक अध्ययन समिति गठन

काठमाडौँ — सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतको सहभागिता थियो।
केही दिनअघि बाजुरा र हुम्लाका स्थानीयबीच सीमा विषयमा विवाद हुँदा झडप भएको थियो। उक्त विवादले राष्ट्रिय राजमार्गसमेत अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। विवाद समाधानका लागि स्थानीय राजनीतिक दलहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका थिए। सोही पृष्ठभूमिमा सरकारले प्राविधिक अध्ययन समिति गठन गरेको हो।





