१५ असार २०८३, सोमबार

‘मलाई कुन विधिबाट हटाउने सोचेर आउनुभयो त?’ : ओलीको प्रश्नपछि सचिवालय बैठकमा सन्नाटा

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउने प्रक्रियाबारे सीधा प्रश्न गरेपछि बैठकमा उपस्थित सचिवालय सदस्यहरू एकछिन अक्क न बक्क बनेका थिए। बैठक कक्षमा प्रवेश गर्नासाथ ओलीले ‘मलाई कुन विधिबाट हटाउने सोचेर आउनुभयो त?’ भनी प्रश्न गरेको निकट स्रोतले जनाएको छ।

पार्टीभित्रैबाट पुनर्गठनको माग उठिरहेका बेला निकट नेताहरू समेत सोही पक्षमा उभिएपछि दबाबमा परेका ओलीले विधि र प्रक्रियाको प्रश्न उठाएका हुन्। ‘मलाई हटाउने हो भने कुन विधिबाट, कसरी हटाउने? विशेष महाधिवेशन वा केन्द्रीय कमिटीको बैठकमार्फत मात्र निर्णय गर्न सकिन्छ,’ ओलीको भनाइ उद्धृत गरिएको छ।

शनिबारको बैठकमा उपमहासचिव योगेश भट्टराईले राजीनामा दिन सुझाव दिएका थिए भने १४ मध्ये १० भन्दा बढी सचिवालय सदस्यले पुनर्गठनको पक्षमा आवाज उठाएका थिए। तर, ओलीले स्पष्ट शब्दमा भने, ‘तपाईंहरूले सम्झाउनुपर्दैन, म नेतृत्व छाड्दिनँ। पार्टीलाई फेरि पुरानै अवस्थामा ल्याउँछु।’

ओलीले थप चुनौती दिँदै भने, ‘निकाल्न नै खोज्नुहुन्छ भने विधि होला। केन्द्रीय कमिटी हो भने त्यो पनि फेस गर्छु। विशेष महाधिवेशन हो भने अध्यक्षको उम्मेदवार बन्छु।’

ओलीको यो कडा अडानपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो। उनले पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई विधिसम्मत प्रक्रियामार्फत सामना गर्ने सङ्केत दिएका छन्। सचिवालय बैठक आज पनि जारी रहने बताइएको छ। यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता पुनर्बहालीपछि ओली पक्षधर र विपक्षीबीचको शक्ति सन्तुलनमा नयाँ समीकरण बन्न सक्ने विश्लेषकहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button