वैशाखमा मापसेबाट १२४ दुर्घटना, १२ को मृत्यु

काठमाडौं । गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकामा ३७ दुर्घटनामा २ जनाको मृत्यु र ५० जना घाइते भएका छन्। कोशी प्रदेशमा ३५ दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने मधेस प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन्।
यस्तै, बागमती प्रदेशमा १२ दुर्घटनामा १ जनाको मृत्यु र १९ जना घाइते, गण्डकीमा ५ दुर्घटनामा ४ को मृत्यु र ३ घाइते, लुम्बिनीमा ९ दुर्घटनामा ३ को मृत्यु र १५ घाइते, कर्णालीमा ३ दुर्घटनामा ३ घाइते तथा सुदूरपश्चिममा ३ दुर्घटनामा ४ जना घाइते भएका छन्।
प्रवक्ता काफ्लेले मापसे गरी सवारी चलाउनु गम्भीर कानुनी अपराध र मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको बताउँदै सबै चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्। रातिको समय, सार्वजनिक बिदा तथा पर्व–उत्सवका बेला यस्ता घटना बढ्ने गरेको प्रहरीको निष्कर्ष छ।
ट्राफिक प्रहरीले देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार सहरी क्षेत्र, राजमार्ग र व्यस्त चोकहरूमा चेकजाँच कडाइ गरिनुका साथै जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। मादक पदार्थ सेवनले चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने र तीव्र गतिको प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको उच्च जोखिम हुने भन्दै प्रहरीले थप सतर्कता अपनाउन अनुरोध गरेको छ।





