५ असार २०८३, शुक्रबार

बाघ संरक्षणमा सामूहिक प्रयासको आवश्यकता औंल्याइयो

चन्द्रनिगाहपुर । बाघको संरक्षणका लागि सबै तह र तप्काबाट सामूहिक प्रयासको आवश्यकता रहेको सरोकारवालाहरूले औंल्याएका छन्।

आइतबार चन्द्रनिगाहपुरमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आयोजित ‘बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरण’ सम्बन्धी सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले बाघको महत्त्व र संरक्षणका उपायहरूबारे जानकारी गराए।

प्रमुख साहले बाघ भएको वन क्षेत्र पारिस्थितिक प्रणालीका लागि उत्कृष्ट मानिने बताउँदै बाघप्रति नागरिकले सकारात्मक धारणा राख्नुपर्नेमा जोड दिए। उनले भने, “बाघको संख्या यकीन नभए पनि रौतहटका विभिन्न वन क्षेत्रमा लोपोन्मुख पाटेबाघको उपस्थिति देखिएको छ।”

उनका अनुसार लमाहा नदी क्षेत्र, धन्सार, हातेमालो सामुदायिक वन, रङ्गपुर साझेदारी वनको सतियारी क्षेत्र, गैँडाटार, बागमतीको जुडिबेला, पौराइ र रामलाल वृन्दावन साझेदारी वन तथा फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बासस्थान रहेको छ।

कार्यक्रममा बाघको शारीरिक बनावट, आहार र स्वभावबारे चर्चा गर्दै उनले बाघले सामान्यतया मानिसबाट टाढा रहन रुचाउने भए पनि आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने स्पष्ट पारे। हाल नेपालभर ३५५ वटा बाघ रहेको तथ्याङ्क प्रस्तुत गर्दै रौतहटमा पनि बाघको गणना कार्य जारी रहेको र छिट्टै यकिन संख्या सार्वजनिक हुने उनले बताए।

रौतहटमा विगतका वर्षहरूमा भएका मानव–बाघ द्वन्द्वका घटनाहरूले गम्भीर चुनौती थपेको छ। विसं २०७७ असोज १४ गते चन्द्रपुर–६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट ज्यान गएको थियो भने सोही घटनामा अन्य दुईजना घाइते भएका थिए। त्यस्तै, २०७८ असोज २१ गते लमहा जङ्गलमा यज्ञबहादुर रायमाझी र २०८१ मङ्सिर १५ गते गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र स्थानीय बौराही चौधरी बाघको आक्रमणबाट घाइते भएका थिए। यी घटनाहरूले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि वन क्षेत्र वरपरका बासिन्दा थप सतर्क हुनुपर्ने आवश्यकतालाई पुष्टि गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button