बुद्धिचाल महासंघमा नयाँ नेतृत्व, पुरानो कार्यसमिति विघटन

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास जनाउँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
महासंघका कुल ११८ प्रतिनिधिमध्ये ४० जना प्रतिनिधिले तत्कालीन अध्यक्ष हेराकाजी महर्जन र महासचिव धर्मबहादुर लामाविरुद्ध विभिन्न आरोपसहित अविश्वास प्रस्ताव दर्ता गरेका थिए। विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि पुरानो कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयन गरिएको हो।
प्रतिनिधिहरूले महासंघ नेतृत्वमाथि नियमित साधारणसभा आयोजना नगरेको, आर्थिक पारदर्शिता कायम गर्न नसकेको, महासंघको नाममा करिब ५४ लाख रुपैयाँ बेरुजुको भार सिर्जना गरेको र खेल प्रशासनमा गैरजिम्मेवारी प्रदर्शन गरेको लगायतका आरोप लगाएका छन्। त्यस्तै, बुद्धिचाल ओलम्पियाड जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी हुनबाट वञ्चित हुनुमा नेतृत्वको गैरजिम्मेवारी रहेको आरोपसमेत उठाइएको छ।
खेलाडीको हकहित संरक्षण तथा विकासका लागि महासंघले गर्नुपर्ने आवश्यक काम नगरेको, आवाज उठाउने खेलाडी तथा पदाधिकारीलाई डर–धम्की दिने गरेको र महासंघको नाम जोडिएर मानव तस्करीजस्तो गम्भीर आरोप लागेकाले नेतृत्वमाथि विश्वास कायम रहन नसकेको प्रतिनिधिहरूको भनाइ छ।
साधारणसभाले बहुमत सदस्यको मागका आधारमा पुरानो कार्यसमिति भंग गर्दै ९० दिनभित्र महासंघको नियमित दशौं साधारणसभा आयोजना गर्ने निर्णय गरेको नवनिर्वाचित महासचिव धनबहादुर बोगटीले जानकारी दिए।
विशेष साधारणसभाबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा दिपेन राई रहेका छन्। वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, उपाध्यक्षमा विश्व विजय घिमिरे र ताराबहादुर रानाभाट, महासचिवमा धनबहादुर बोगटी, उप–महासचिवमा विजयवोध लावती र कोषाध्यक्षमा वीरबहादुर रावत चयन भएका छन्। सदस्यहरूमा कुस्माकर काफ्ले, उमेश शाह साना, भगवती अधिकारी, दिनेश थापा, दीर्घराज अधिकारी, धर्मी खड्का, सबिना लामगाडे, टिकादेवी भण्डारी, लक्ष्मी कन्दङ्वा र अञ्जु शाह सर्वसम्मत निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिले संस्थागत सुधार, आर्थिक पारदर्शिता, खेलाडीमैत्री वातावरण निर्माण, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिता तथा महासंघको नियमित गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित आगामी ९० दिनभित्र नियमित साधारणसभा सम्पन्न गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।





