२१ जेष्ठ २०८३, बिहीबार

हुरीले विद्युत् आपूर्ति प्रभावित, मर्मत कार्य तीव्र

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भारको काम तीव्र पारेको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक टोलीहरू निरन्तर खटिई मर्मत तथा पुनःसञ्चालनको कार्य द्रुत गतिमा अघि बढाइरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल मर्मतको काम अगाडि बढाउन प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका छन्।

प्राधिकरणले दिएको विवरणअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकामा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ र हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको छ। सोही खण्डको टावर नं १३६–१३७ मा तीनवटा रुख हटाइएको छ भने लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ।

यस्तै, अमलेखगञ्ज–कामाने खण्डको टावर नं ४६–४७ बीच एक रुखका कारण प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ। मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ।

आइतबार दिउँसोको हुरीले देशका विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या ल्याएको थियो। प्राधिकरणले सोमबार बिहानसम्म सहज रूपमा विद्युत् आपूर्ति दिने प्रयास भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button