सत्यनिष्ठा र सिर्जनाको संगम : याकोरेको प्रदर्शनीमा तीन सयभन्दा बढी सांस्कृतिक सामग्री

ल्हासा । परम्परा र आधुनिकताको सुन्दर सङ्गमले भरिपूर्ण याकोरे कम्पनीको प्रदर्शनी कक्षमा विभिन्न आकारप्रकारका तीन सयभन्दा बढी सांस्कृतिक सिर्जनात्मक उत्पादनहरू क्रमबद्ध रूपमा प्रदर्शन गरिएका छन्। प्रदर्शनी कक्षको बाहिरी स्वरूप, भित्री बनोट र सजावट हरेक पक्षले तिब्बती परम्परागत पुरातन आकर्षण र आधुनिक सौन्दर्यको मिश्रण झल्काउँछ।
संवाददाता त्यहाँ पुग्दा कम्पनीका प्रमुख ताशी पाल्देन सहकर्मीसँग नयाँ उत्पादनको डिजाइनबारे विचारविमर्श गरिरहेका थिए। साधारण परिवारमा जन्मेर एक डिजाइनर बन्ने उनको यात्रा निकै प्रेरणादायी छ। व्यावसायिक विद्यालयको विद्यार्थीबाट स्थापित डिजाइन कम्पनीको प्रमुख बन्ने क्रममा उनले धेरै उतारचढावको सामना गरे, तर उनले सधैं सत्यनिष्ठालाई पथप्रदर्शक बनाइरहे।

ताशी पाल्देनको जन्म चाम्दोस्थित गोन्जो काउन्टीको एक सामान्य परिवारमा भएको थियो। छ वर्षको उमेरमा आमाको निधन भएपछि घरको आर्थिक अवस्था कमजोर भएकाले बुबाले उनलाई हजुरआमाको जिम्मा लगाउनुभयो। हजुरआमाले उनलाई आफ्नै सन्तानझैं पालनपोषण गरिन् र सधैं भन्नुहुन्थ्यो, ‘जे गरे पनि सत्यनिष्ठा र इमानदारी नै सबैभन्दा ठूलो कुरा हो।’ सानो छँदा हजुरआमाको यो भनाइको गहिराइ नबुझे पनि, पछि व्यवसायको हरेक पाइलामा यही सन्देश उनको मार्गदर्शक बन्यो।
परिवारको चाहनाअनुसार सरकारी जागिरे बन्ने सपना त्यागेर ताशीले सन् २०१८ मा सबैको अपेक्षाभन्दा भिन्न निर्णय लिए—व्यवसायका लागि ङारी जाने। त्यहाँ साथीसँग मिलेर सानो विज्ञापन कम्पनी खोले र कागज छपाइ, पर्दा छपाइ, साइनबोर्ड बनाउनेजस्ता आधारभूत कामबाट सुरुवात गरे। दुई वर्ष कम्पनी चलाउँदा धेरै कठिनाइ आए पनि हजुरआमाको सत्यनिष्ठाको पाठले उनलाई कहिल्यै छोडेन। हरेक कामको गुणस्तरमा ध्यान दिने र ग्राहकलाई वाचाअनुसार सेवा दिने उनको बानीले स्थानीयवासीको विश्वास जित्यो।

तर, कम्पनीको आम्दानी दैनिक खर्च धान्न पनि मुस्किल हुँदा ताशी पुनः अन्योलमा परे। उनी भन्छन्, ‘मलाई पढ्न धेरै रुचि थियो, तर दुई वर्षमा मेरो डिजाइनको स्तर स्थिर भएको र दैनिक काम दोहोरिने भएपछि डिजाइनको सपनाबाट टाढा जाँदै गरेको महसुस भयो। त्यसैले ङारीमा कमाएको सबै छोडेर ल्हासामा पुनः पढ्न र व्यवसाय गर्न आएँ।’
सन् २०२० मा ल्हासा आएपछि ताशीले उच्च माध्यमिक विद्यालयका सहपाठी दोन्दुप त्सेरिङसँग मिलेर तिब्बत याकोरे ब्रान्ड डिजाइन कम्पनी स्थापना गरे। प्रतिस्पर्धा अत्यधिक भएको ल्हासामा सुरुवाती दिन कठिन थिए। तर उनी भन्छन्, ‘सानो कोठामा बसेर काम गर्दा पनि समान सोच भएको साथीसँग मनपर्ने डिजाइनको काम गर्न पाउँदा मनमा ठूलो खुसी थियो।’

कम्पनीको नाम ‘याकोरे’ (शाब्दिक अर्थ: माथि आऊ) बारे ताशी भन्छन्, ‘म खाम्पा भएकाले यो हाम्रो दैनिक बोलीको शब्द हो। यो नामले तिब्बती डिजाइनलाई देशविदेशमा फैलाउने कम्पनीको लक्ष्यसँग मेल खान्छ भन्ने लाग्यो।’
नयाँ उत्पादनको प्रवर्द्धनका लागि ताशीले विभिन्न पसल, होटल र सामाजिक सञ्जालसँग सहकार्य गरे। सन् २०२२ देखि उनले सामाजिक सञ्जालमा आफूले डिजाइन गरेका हरेक उत्पादनको पृष्ठभूमि र कथा साझा गर्न थाले। ग्राहकले अनलाइनमार्फत पहिलो उत्पादन किन्दा उनलाई ठूलो प्रोत्साहन मिल्यो।
हालसम्म कम्पनीले तीन सयभन्दा बढी सांस्कृतिक सिर्जनात्मक उत्पादन डिजाइन गरिसकेको छ। तिब्बत स्वायत्त क्षेत्रको सांस्कृतिक सिर्जना प्रतियोगिताको प्रथम पुरस्कार, अम्दो टेलिभिजनको सन् २०२२ को लोगो डिजाइन प्रतियोगिताको स्वर्ण पदक, सन् २०२५ को आठौं ल्हासा युवा नवप्रवर्तन व्यवसाय प्रतियोगिताको तेस्रो पुरस्कारलगायत दर्जनौं सम्मान प्राप्त गरेको छ।
अहिले याकोरे ल्हासाको सांस्कृतिक उद्योग प्रदर्शन आधार, ल्हासा वाणिज्य संघको सदस्य इकाइ र तिब्बत प्राविधिक विद्यालयको ज्ञान–सीप अभ्यास केन्द्र बनेको छ। कम्पनीसँग ९४ वटा बौद्धिक सम्पत्ति अधिकार र एउटा आविष्कार पेटेन्ट छ। १३ जना कर्मचारीमध्ये अधिकांश विश्वविद्यालय स्नातक छन्।
ताशी भन्छन्, ‘डिजाइनमा रुचि भएका युवाहरूले हामीसँग मिलेर तिब्बती परम्परागत संस्कृतिको गहिरो अध्ययन गरी संस्कृति र आधुनिक डिजाइनको सङ्गमबाट राष्ट्रिय विशेषता भएका र आधुनिक उपभोक्ता मागअनुरूपका उत्पादन बनाएर तिब्बती संस्कृतिको विकास र प्रसारमा योगदान दिनेछन् भन्ने आशा छ।’





