१५ असार २०८३, सोमबार

जुम्लाको कृणमोक्ष मावीमा सामूहिक मनोवैज्ञानिक समस्या देखिएपछि पठनपाठन बन्द

जुम्ला । बिहीबार दिउँसोदेखि विद्यार्थीहरू धमाधम बिरामी पर्न थालेपछि जुम्लास्थित कृणमोक्ष माध्यमिक विद्यालयको पठनपाठन बन्द गरिएको छ। उक्त दिन एक्कासि २२ जना किशोरी बिरामी परे। रुने, कराउने, काम्ने लक्षण देखिएपछि अभिभावकलाई बोलाएर विद्यार्थीलाई घर पठाइयो तर दोस्रो दिन पनि १८ किशोरीसहित एक किशोर बिरामी परे।

प्रधानाध्यापक कृष्ण बुढाका अनुसार लाइनमा प्रार्थना चलिरहेको बेला एक छात्रा ठूलो स्वरमा कराउन थालिन्। केही समयमै अर्की छात्रा ढलिन्। एकपछि अर्को गर्दै बिरामी पर्न थालेपछि विद्यालयले अभिभावक बोलाएर समाधान खोजेको थियो। प्रधानाध्यापक बुढाले भने, ‘अवस्था नियन्त्रणबाहिर जान थालेपछि विद्यार्थीलाई घर पठायौं। शिक्षकले सम्हाल्नै गाह्रो बन्यो। एक बिरामी परेपछि अर्कोमा पनि देखिन थाल्यो। बालबालिका डराए।’

केही विद्यार्थी बेहोसजस्तै हुने, केही निरन्तर रोइरहने र केहीले अस्वाभाविक व्यवहार देखाउने गरेका छन्। बिहीबारदेखि सुरु भएको यो क्रम शुक्रबार झन् तीव्र बनेपछि पालिकाको शिक्षा प्रमुखसँग समन्वय गरेर विद्यालय बन्द गरिएको छ।

केही दिनअघि सिंजा–६ स्थित शान्तिजन आधारभूत विद्यालय काँडागाउँमा समेत यस्तै समस्या देखिएको थियो। विद्यार्थीहरू रुने, कराउने र बेहोस हुनेजस्ता समस्या देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो। विद्यालयमा धामी झाँक्री बोलाउने, पूजा गर्ने र धार्मिक कार्य गर्ने क्रम पनि चल्यो तर सुधार आएन। यो घटना अन्धविश्वासको दृष्टिले नभई मनोवैज्ञानिक समस्याका कारणले हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउने गर्छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका मनोपरामर्शदाता नन्दराज आचार्य यो अवस्था ‘मास कन्भर्जन डिसअर्डर’ अर्थात् सामूहिक मनोवैज्ञानिक प्रभावसँग सम्बन्धित हुन सक्ने बताउँछन्। ‘डर, तनाव, सामाजिक प्रभाव र भावनात्मक असुरक्षाले विशेषगरी किशोरावस्थाका बालबालिकामा यस्तो प्रतिक्रिया देखिन सक्छ,’ आचार्यले थपे, ‘एक जनामा देखिएको व्यवहार अर्कोमा पनि सर्ने सम्भावना हुन्छ।’ विशेषगरी भीडभाड, अत्यधिक गर्मी, मानसिक दबाव र डरको वातावरणमा यो समस्या बढ्न सक्ने उनको तर्क छ।

कर्णालीका अधिकांश विद्यालयमा नियमित मनोसामाजिक परामर्शको व्यवस्था छैन। सोमबार (आज) मनोपरामर्शदाता बोलाएको प्रधानाध्यापक बुढाले बताए। यसअघि यही विद्यालयमा रहेको छात्राबासमा समेत यही समस्या देखिएको थियो। काउन्सिलिङ गरेर विद्यार्थी ठिक भएका थिए।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा यो समस्या देखिन थालेको हो। अहिले विद्यालयमा ३२५ जना विद्यार्थी अध्ययनरत छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button