१५ असार २०८३, सोमबार

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई विशेष सम्बोधनका लागि आग्रह

काठमाडौँ, — आगामी गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सो समारोहमा विशेष सम्बोधनका लागि अनुरोध गर्दै पत्र पठाएका छन्।

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको विशेष समारोहमा राष्ट्रपतिले नै सम्बोधन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाटै गराएको बुझिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोही निर्णयसहित राष्ट्रपति पौडेललाई विशेष सम्बोधनको आग्रह गर्दै पत्र पठाएका हुन्।

राष्ट्रपति पौडेललाई पठाइएको अनुरोधपत्रमा भनिएको छ, “संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ।”

संविधानको धारा ६६ को उपधारा (२) मा व्यवस्था छ, “उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ। त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ।”

राष्ट्रपति नै गणतन्त्रको प्रतीक भएकाले सम्बोधनको जिम्मेवारी उहाँलाई नै दिनुपर्ने सोच

प्रधानमन्त्री शाहले यसअघि पनि राष्ट्रपति नै गणतन्त्रको प्रतीक भएकाले उनैमार्फत सम्बोधन गराउनुपर्ने विषयमा अनौपचारिक रूपमा कुरा पुर्याएका थिए। प्रधानमन्त्री कार्यालयका तर्फबाट मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाह गणतन्त्र दिवसमा सम्बोधन गर्न अनिच्छुक रहेको जानकारी गराइसकेका थिए।

यो निर्णयसँगै गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन अन्त्य हुने देखिएको छ। सिंहदरबार स्रोतका अनुसार, “राष्ट्रपतिलाई गणतन्त्रको प्रतीक मान्दै उहाँमार्फत नै गणतन्त्र दिवसको विशेष सम्बोधन गराउने प्रधानमन्त्री शाहको सोच देखिएको छ।”

गणतन्त्र दिवसको विशेष समारोह यही जेठ १५ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button