देउवालाई पक्राउ गर्ने अनुमतिविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ अनुमतिविरुद्ध दायर गरेको रिटमा सोमबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकार र रिट निवेदकबीचको छलफलपछि मागबमोजिम अन्तरिम आदेश दिएको हो। इजलासबाट आदेशको लिखित प्रति भने आउन बाँकी छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा सर्वोच्च पुगेका थिए। उनले जिल्ला अदालतलाई पक्राउका लागि अनुमति दिने क्षेत्राधिकार नभएको दाबी रिटमा गरेका छन्। साथै, देउवाले अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको समेत रिटमा उल्लेख गरेका थिए।
यसअघि, सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले अघिल्लो साता पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। चुनावअघि हङकङ गएका देउवा दम्पती अझै नेपाल फर्किएका छैनन्।





