पत्रकार श्रेष्ठमाथि सरकारी धरपकड र दबाबको प्रेस चौतारीद्वारा निन्दा, ‘अडियो प्रकरण’ बारे थप खुलासा

काठमाडौँ — प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठमाथि भएको सरकारी धरपकड र दबाब निन्दनीय रहेको बताएको छ। चौतारीका महासचिव हिरामान लामाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्य संयन्त्रको दुरुपयोग गरी धरपकड, धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई लक्षित गरी समाचार स्रोत खुलाउन दबाब दिने, धम्क्याउने तथा धरपकडको तयारी भइरहेको सूचना अत्यन्त आपत्तिजनक र अलोकतान्त्रिक भएको उल्लेख छ।
अडियो प्रकरण र चिनियाँ दूतावासको आपत्ति
यसैबीच, पत्रकार श्रेष्ठ र पूर्वगृहमन्त्री सुधन गुरुङ जोडिएको एउटा विवादित अडियो सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले पनि आपत्ति जनाएको छ। आइतबार बिहान ‘युथ अफ वीरगन्ज-वाइओबी’ नामक फेसबुक पेजबाट ३ मिनेट ३ सेकेन्ड लामो अडियो सार्वजनिक भएको थियो। ‘एक्सक्लुसिभ’ दाबी गरिएको उक्त अडियोमा श्रेष्ठले १० लाख रुपैयाँ र एक बोतल मदिरा लिएर गुरुङविरुद्ध समाचार लेखेको आरोप लगाइएको छ।
अडियो सार्वजनिक भएको केही घण्टापछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत ११ वटा तस्बिर पोस्ट गर्दै उक्त अडियोको खण्डन गरेका थिए। उनले आफू र आफ्नो मिडियालाई बदनाम गर्न योजनाबद्ध षड्यन्त्र गरिएको दाबी गरेका छन्। श्रेष्ठका अनुसार ‘मिस्टर यिङ’ र ‘मिस्टर एम’ नाम प्रयोग गर्ने व्यक्तिले चिनियाँ नम्बरबाट पटक-पटक फोन गरी पूर्वगृहमन्त्री गुरुङविरुद्ध समाचार लेख्न प्रलोभन देखाएका थिए।
श्रेष्ठले भने, ‘उनीहरूले रवि लामिछाने र अरू मिलेर सुधनलाई गृहमन्त्री बन्न नदिने कुरा गरे। पछि मास्क र कालो चश्मा लगाएकी एक युवतीमार्फत कार्यालयको गेटमा मदिरा र ५० हजार रुपैयाँ छाड्न लगाए। त्यसपछि ‘सुधन गुरुङ एकदम खराब मान्छे हो, यसलाई गृहमन्त्री बन्नबाट जसरी पनि रोक्नुपर्यो, १० लाख दिन्छु’ भन्ने लिखित प्रलोभन पनि आयो।’
चिनियाँ दूतावासको कडा प्रतिक्रिया
यी आरोपहरू सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले आइतबार नै कडा आपत्ति जनाएको छ। दूतावासले चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञ विरुद्ध समाचार लेख्न पत्रकारलाई घुस दिन खोजेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
दूतावासको वक्तव्यमा भनिएको छ, ‘चीनको छविलाई जानाजानी बदनाम गर्ने यस्ता गतिविधिको हामी कडा शब्दमा निन्दा गर्छौं। चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त पालना गर्दै आएको छ र नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गरिरहेको छ।’
दूतावासले नेपालका सम्बन्धित निकायहरूलाई यस घटनाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गरी संलग्न योजनाकारहरूलाई कानुनअनुसार कारबाही गर्न पनि आग्रह गरेको छ।
प्रेस चौतारीको माग
प्रेस चौतारीले आफ्नो विज्ञप्तिमा सञ्चारमाध्यम तथा पत्रकारमाथि राज्य शक्तिको आडमा प्रतिशोध र दबाब सिर्जना गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको ठहर गरेको छ। पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपबारे निष्पक्ष छानबिनको माग गरिरहेकै अवस्थामा उल्टै निगरानी र मानसिक दबाब बढाइएको भन्दै चौतारीले सरकारको व्यवहारप्रति प्रश्न उठाएको छ।
प्रेस चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि विरुद्ध सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। साथै सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि सरकारसँग माग गरिएको छ।
पूर्वगृहमन्त्री गुरुङको राजीनामा पृष्ठभूमि
जेन-जी आन्दोलनमा भोलेन्टियरका रूपमा खटिएका सुधन गुरुङ बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए। तर, उनको सम्पत्ति र विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानीबारे प्रश्न उठेपछि उनले गत वैशाख ९ गते राजीनामा दिएका थिए। जनआस्था साप्ताहिकले पनि गुरुङ र भट्टबीचको सेयर कनेक्सनबारे समाचार प्रकाशित गरेको थियो।
पत्रकार श्रेष्ठले आफूले कुनै उपहार वा रकम माग नगरेको र त्यस्ता प्रस्तावहरू अस्वीकार गरेको स्पष्ट पारेका छन्। उनले उक्त अडियो नियोजित रूपमा ‘एडिट’ गरी भ्रम फैलाउन खोजिएको दाबी गरेका छन्। ‘उसले अडियो रेकर्ड गर्यो, फिल्टर गर्यो, एडिट गर्यो र आफूलाई चाहिने कुरा मात्रै राख्यो। तर, मैले उसलाई ‘यस्ता कुरा नगर’ भनेर दिएको जवाफ चाहिँ उसले हटायो,’ श्रेष्ठले भनेका छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको र अनुसन्धान सुरु भइसकेको पनि उनले बताएका छन्।





