१४ असार २०८३, आईतवार

सिचाङ प्रतिनिधिमण्डलको नेपाल भ्रमणले नेपाल–चीन सहकार्यमा नयाँ ऊर्जा थप्ने विश्वास

काठमाडौं — नेपाल–चीन पारस्परिक सहयोग समाजले जनवादी गणतन्त्र चीनको सिचाङ स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्ष चाओ पेङ नेतृत्वको प्रतिनिधिमण्डललाई नेपालमा हार्दिक स्वागत गर्दै भ्रमण सफलताको शुभकामना व्यक्त गरेको छ।

समाजले सोमबार एक औपचारिक कूटनीतिक पत्रमार्फत उपाध्यक्ष चाओ र उहाँको प्रतिनिधिमण्डललाई काठमाडौंमा स्वागत गर्न पाउँदा गौरव महसुस भएको जनाएको हो। प्रतिनिधिमण्डलमा पाओ थिङ, त चेन, क लिए, वु काङ तथा सिरेन याङ्जी सदस्य रहेका छन्।

समाजका अध्यक्ष प्रेम सागर पौडेलद्वारा हस्ताक्षरित पत्रमा नेपाल र चीनबीचको सम्बन्ध इतिहास, भूगोल, संस्कृति, आपसी सम्मान र विश्वासको गहिरो आधारमा उभिएको उल्लेख गरिएको छ। विशेषगरी सिचाङ स्वायत्त क्षेत्र नेपालसँग हिमालयपारि जोडिएको निकटतम छिमेकी भूभाग भएकाले दुई देशबीचको जनस्तरीय सम्बन्ध, व्यापार, संस्कृति, पर्यटन र सीमापार सहकार्यमा यसको भूमिका महत्त्वपूर्ण रहेको समाजले जनाएको छ।

पत्रमा भनिएको छ, “सिचाङ स्वायत्त क्षेत्र नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धको जीवन्त सेतु हो। हिमालयको काखमा रहेका हाम्रा भूभागबीचको सहकार्यले जनस्तरमा समेत गहिरो सकारात्मक प्रभाव पार्दै आएको छ।”

समाजले उपाध्यक्ष चाओको नेपाल भ्रमणले दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन, सीमापार सम्पर्क विस्तार गर्न र पारस्परिक हितका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना खोल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। भ्रमणले सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, व्यापार सहजीकरण, शैक्षिक सहकार्य, जनस्तरीय मैत्री तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपाल–चीन पारस्परिक सहयोग समाजले आफू लामो समयदेखि दुई देशबीचको मित्रता, सद्भाव, पारस्परिक समझदारी, सांस्कृतिक आदानप्रदान, आर्थिक सहकार्य र जनस्तरीय सम्बन्ध प्रवर्द्धनमा सक्रिय रहेको जनाएको छ। समाजका अनुसार दुई देशबीचको सम्बन्ध केवल सरकारी तहमा मात्र नभई जनस्तरमा पनि बलियो हुँदै गएको छ, जसलाई अझ संस्थागत र व्यावहारिक बनाउनु आजको आवश्यकता हो।

पत्रमा वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा आपसी विश्वास, स्थायित्व, विकास र सहयोगको महत्त्व झन् बढेको उल्लेख गर्दै चाओ पेङ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणलाई विशेष अर्थपूर्ण मानिएको छ। समाजले भ्रमण अवधिमा हुने भेटवार्ता र संवादले नेपाल–चीन सम्बन्धलाई थप विश्वासिलो, व्यावहारिक र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।

समाजले प्रतिनिधिमण्डलको भ्रमण सफल, फलदायी र स्मरणीय बनोस् भन्ने शुभकामना व्यक्त गर्दै आवश्यक परेमा आफ्नो तर्फबाट सद्भाव, सहयोग र सहजीकरणका लागि तत्पर रहेको जनाएको छ।

पत्रको प्रतिलिपि नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल सरकार परराष्ट्र मन्त्रालय र सिचाङ स्वायत्त क्षेत्रीय सरकारको परराष्ट्र मामिला कार्यालयलाई पनि पठाइएको छ।

नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा कूटनीतिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध थप सक्रिय बन्दै गएको अवस्थामा सिचाङ प्रतिनिधिमण्डलको यो भ्रमणले हिमालयपारि जोडिएको सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

नाेट: तस्बिर एआईबाट सिर्जना गरिएको। सं.

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button