सिचाङ प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय ब्रदर्स युथ फोरमको स्वागत, भ्रमणले युवा सहकार्यमा नयाँ आयाम थप्ने विश्वास

काठमाडौं — अन्तर्राष्ट्रिय ब्रदर्स युथ फोरमले जनवादी गणतन्त्र चीनको सिचाङ स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्ष चाओ पेङ नेतृत्वको प्रतिनिधिमण्डललाई नेपालमा हार्दिक स्वागत गर्दै भ्रमण सफलताको शुभकामना व्यक्त गरेको छ।
फोरमले सोमबार एक औपचारिक शुभकामना सन्देशमार्फत उपाध्यक्ष चाओ र उहाँको प्रतिनिधिमण्डललाई काठमाडौंमा स्वागत गर्न पाउँदा हर्षित भएको जनाएको हो। प्रतिनिधिमण्डलमा पाओ थिङ, त चेन, क लिए, वु काङ तथा सिरेन याङ्जी सदस्य रहेका छन्।
सन्देशमा सिचाङ स्वायत्त क्षेत्र हिमालयको काखमा रहेको नेपालको निकटतम छिमेकी मात्र नभई दुई राष्ट्रबीचको मित्रताको जीवन्त प्रतीक भएको उल्लेख गरिएको छ। हिमालयले जोडेका दुई भूभागबीच सदियौंदेखि चलिआएको सांस्कृतिक आदानप्रदान, व्यापारिक सम्बन्ध र जनस्तरीय सम्पर्कले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउँदै लगेको फोरमको भनाइ छ।
अन्तर्राष्ट्रिय ब्रदर्स युथ फोरमले आफू नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल भएको र विश्वभरिका युवाहरूसँग मित्रता, सहकार्य र समझदारी विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ। विशेषगरी नेपाल र चीनका युवाहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फोरम सदैव प्रतिबद्ध रहेको र नयाँ पुस्ताबीचको सेतुले दुई देशको भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गरिएको छ।
फोरमले उपाध्यक्ष चाओको भ्रमणले नेपाल र चीनबीचको युवा आदानप्रदान, शैक्षिक सहकार्य, सीप विकास, उद्यमशीलता, खेलकुद, सांस्कृतिक कार्यक्रम तथा सीमापार मैत्री अभिवृद्धिमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरेको छ। साथै, दुई देशबीचको समग्र सम्बन्धलाई थप उचाइमा पुर्याउन यसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पनि लिएको छ।
फोरमले नेपाल र चीनका युवाहरूबीच संयुक्त कार्यक्रम आयोजना गर्न, अनुभव आदानप्रदान गर्न र दिगो मित्रता विकास गर्न आफू सदैव इच्छुक र प्रतिबद्ध रहेको जनाउँदै आवश्यकता परेमा सहयोग र सहजीकरणका लागि तत्पर रहने जानकारी गराएको छ।
सन्देशको प्रतिलिपि नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय, सिचाङ स्वायत्त क्षेत्रीय सरकारको परराष्ट्र मामिला कार्यालय र अखिल चीन युवा महासंघलाई पनि पठाइएको छ।
उपाध्यक्ष चाओ पेङ नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार दिउँसो ल्हासाबाट हिमालय एअरलाइन्सको उडानमार्फत काठमाडौं आइपुगेको थियो। नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा कूटनीतिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध थप सक्रिय बन्दै गएको अवस्थामा सिचाङ प्रतिनिधिमण्डलको यो भ्रमणले युवास्तरको सहकार्यलाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ।
नाेट: तस्बिर एआईबाट सिर्जना गरिएको। सं.





