१४ असार २०८३, आईतवार

लुम्बिनी प्रदेशसभाको बैठक आज, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

देउखुरी, दाङ — लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत सातौं बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ।

कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले शून्य समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन्। त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेस गर्नेछन्।

प्रदेश प्रमुखबाट प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेस गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेस गर्नेछन् भने उक्त प्रस्तावलाई प्रदेशसभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन्। त्यसपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

मुख्यमन्त्री आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्। प्रस्तावमाथिको छलफलपश्चात् प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको बहसमा भाग लिने प्रदेशसभा सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button