पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा आज चट्याङसहित वर्षा, तराईमा तातो दिनको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसकै प्रभावले काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराई भू–भागमा आंशिक बादल रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकीका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली एवं पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भू–भागमा तातो दिन हुने तथा मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
यसैगरी रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बादल रहने तथा लुम्बिनी र सुदूरपश्चिमको तराई भू–भाग मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





