१४ असार २०८३, आईतवार

चीन–पाकिस्तान सम्बन्धलाई छिमेकी कूटनीतिको सर्वोच्च प्राथमिकता : राष्ट्रपति सी

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीनले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ आफ्नो छिमेकी कूटनीतिको सर्वोच्च प्राथमिकतामा राखेको बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफसँग सोमबार बेइजिङमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति सीले ७५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच अटुट परम्परागत मित्रता रहिआएको उल्लेख गरे। दुवै पक्षबीचको रणनीतिक विश्वास र व्यावहारिक सहकार्यले एकअर्काको विकासमा प्रभावकारी योगदान पुर्याएको उनको भनाइ थियो।

टियान्जिन विश्वविद्यालयमा अध्ययनरत पाकिस्तानी विद्यार्थीले चीन–पाकिस्तान सहकार्यको निर्माता, आदानप्रदानको प्रवर्द्धक र मित्रताको संरक्षक बन्ने प्रतिबद्धता जनाउँदै पठाएको पत्रप्रति सङ्केत गर्दै राष्ट्रपति सीले द्विपक्षीय मित्रताको अभियानले उत्तराधिकारी पाएकोमा सन्तोष व्यक्त गरे।

चीनले पाकिस्तानको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षामा दृढ समर्थन रहने स्पष्ट पार्दै उनले उच्चस्तरीय आदानप्रदान कायम राख्न, रणनीतिक सञ्चार सुदृढ गर्न र द्विपक्षीय सम्बन्धको सही दिशा पक्डिन तयार रहेको बताए।

राष्ट्रपति सीले चीन–पाकिस्तान साझा भविष्य समुदाय निर्माणको कार्ययोजनालाई सुदृढ रूपमा अघि बढाउन, ठूला आयोजना र ‘साना तर सुन्दर’ जनजीविका परियोजनाको निर्माणमा समन्वय गर्न तथा कृषि, उद्योग, कृत्रिम बौद्धिकता र जनशक्ति विकासजस्ता क्षेत्रमा व्यापक सहकार्य गर्न आह्वान गरे। दुवै पक्षले उच्चस्तरीय र व्यापक क्षेत्रमा सुरक्षा सहकार्य गर्दै क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री सरिफले राष्ट्रपति सी पाकिस्तानी जनताका मात्र नभई विश्वका सम्पूर्ण शान्तिप्रिय जनताका महान् मित्र भएको बताए। उनले चीनको अर्थतन्त्रले हासिल गरेको उल्लेखनीय सफलताले विश्व शान्ति कायम गर्न र बहुध्रुवीय विश्व निर्माण गर्न बलियो सुनिश्चितता प्रदान गरेको उल्लेख गरे।

पाकिस्तान एक–चीन सिद्धान्तमा दृढ रहेको र चीनको केन्द्रीय हितसँग जोडिएका सबै विषयमा चीनको अडानलाई अटल समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै सरिफले पाकिस्तान सधैँ चीनको असल मित्र र साझेदार रहने बताए। बेल्ट एन्ड रोड पहलअन्तर्गत सहकार्यलाई गहिरो बनाउन र चीन–पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई अघि बढाउन पाकिस्तान तयार रहेको उनको भनाइ थियो।

पाकिस्तानले अमेरिका–इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकोमा चीनको समर्थनप्रति आभार व्यक्त गर्दै सरिफले राष्ट्रपति सीले मध्यपूर्वबारे राखेका चार प्रस्तावले क्षेत्रीय शान्तिका लागि मार्गदर्शक ढाँचा प्रदान गरेको बताए। विश्व शान्ति र स्थायित्व प्रवर्द्धनमा चीनसँग निकट समन्वय गर्न पाकिस्तान इच्छुक रहेको उनले जनाए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button