चीन–सर्बिया ‘फलामे मित्रता’को नयाँ अध्याय : राष्ट्रपति भुचिचलाई ‘मैत्री पदक’ प्रदान

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङ र सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुचिचबीच सोमबार बेइजिङमा वार्ता सम्पन्न भएको छ। दुई देशबीचको ‘फलामे मित्रता’को प्रशंसा गर्दै दुवै नेताले यातायातदेखि उदीयमान क्षेत्र र जनस्तरको आदानप्रदानसम्म सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति भुचिच मे २४ देखि २८ सम्म पहिलो राजकीय भ्रमणका लागि चीनमा रहेका हुन्। यसअघि उनी विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन चीन आएका थिए, जसमा गत सेप्टेम्बरमा चिनियाँ जनप्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धको ८०औँ विजयोत्सव समारोह पनि समावेश छ।
सीले सन् २०२४ मा आफ्नो सर्बिया राजकीय भ्रमणपछि दुवै पक्षले नयाँ युगमा चीन–सर्बिया साझा भविष्य समुदाय निर्माणको नयाँ अध्याय खोलेको बताउँदै यसले दुवै जनतालाई लाभान्वित गरेको र राज्य–राज्य सम्बन्धको नमुना प्रस्तुत गरेको उल्लेख गरे। दुई देशबीचको बलियो मित्रता गहन ऐतिहासिक तर्क र सुदृढ व्यावहारिक जगमा आधारित रहेको उनको भनाइ थियो।
भ्रमणका क्रममा सीले भुचिचलाई जनवादी गणतन्त्र चीनको सर्वोच्च सम्मान ‘मैत्री पदक’ प्रदान गरे। यो पदक राष्ट्रपति भुचिचको चीन–सर्बिया मित्रताप्रतिको योगदानको उच्च मूल्याङ्कन मात्र नभई नयाँ युगमा साझा भविष्य समुदाय निर्माणका लागि दुई जनताको हार्दिक अपेक्षाको प्रतीक पनि रहेको सीले बताए।
भुचिचले यो क्षण आफ्नो जीवनकै महत्वपूर्ण घटना भएको भन्दै चीन सधैँ साना देशको सम्मान गर्ने, कठिन समयमा साथ दिने र विकासमा सहयोग गर्ने राष्ट्र रहेको बताए। सर्बियाले चीनको समर्थन कहिल्यै नबिर्सने उल्लेख गर्दै उनले सर्बिया–चीन मित्रतामा समर्पित रहने र साझा भविष्य समुदाय निर्माणलाई अघि बढाउने प्रतिबद्धता जनाए।
वार्तामा दुई राष्ट्रपतिले चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) सँग विकास रणनीति तालमेल गर्ने, बेल्ट एन्ड रोड सहकार्यको मध्यकालीन कार्ययोजना कार्यान्वयन गर्ने र यातायात, ऊर्जा पूर्वाधारलगायत क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा सहमति जुटाए। कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, हरित ऊर्जा र उन्नत उत्पादनजस्ता उदीयमान क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने निर्णय भएको छ।
वार्तापछि दुई राष्ट्रपतिले राजनीति, अर्थ–वाणिज्य, विज्ञान–प्रविधि, शिक्षा, कानुनी मामिला र संस्कृतिलगायत २० भन्दा बढी सहकार्य दस्तावेजमा हस्ताक्षर समारोहको साक्षी बने। नयाँ युगमा चीन–सर्बिया साझा भविष्य समुदाय निर्माणलाई निरन्तर प्रवर्द्धन गर्ने संयुक्त वक्तव्यका साथै वैश्विक विकास, सुरक्षा, सभ्यता र सुशासन पहलको संयुक्त कार्यान्वयनसम्बन्धी वक्तव्य पनि जारी गरिएको छ।
वार्ताअघि सी र उनकी पत्नी पेङ लियुआनले जन बृहत् भवनमा भुचिच र उनकी पत्नी तमारा भुचिचका लागि स्वागत समारोह तथा साँझ स्वागत भोजको आयोजना गरेका थिए।





