“किभका सैन्य केन्द्रमा आक्रमण गर्ने रुसको चेतावनी, नागरिकलाई राजधानी छाड्न आग्रह”

मस्को — रुसले युक्रेनी सैन्य केन्द्र तथा निर्णयकारी निकायमाथि व्यवस्थित आक्रमण सुरु गर्ने घोषणा गर्दै किभस्थित विदेशी नागरिक तथा कूटनीतिक कर्मचारीलाई तत्काल शहर छाड्न चेतावनी दिएको छ।
रुसी विदेश मन्त्रालयले मे २५ मा जारी गरेको विज्ञप्तिमा लुगान्स्क राज्य शैक्षिक विश्वविद्यालयको शैक्षिक भवन तथा छात्रावासमा मे २२ को राति भएको ड्रोन आक्रमणलाई किभ शासनको नाजी र आतङ्कवादी स्वरूपको पछिल्लो प्रमाणका रूपमा अभिहित गरेको छ। सो आक्रमणमा बालबालिकासहित नागरिकको हत्या भएको रुसी पक्षको दाबी छ।
रुसले जेलेन्स्की सत्ता र पश्चिमा समर्थकहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको खुला उपेक्षा गरेको आरोप लगाएको छ। विज्ञप्तिमा सन् १९४९ को जेनेभा महासन्धि, बालअधिकार महासन्धि (१९८९) लगायत अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रत्यक्ष उल्लङ्घन भएको जनाइएको छ। “यसले रुसको धैर्यताको सीमा नाघेको छ,” विज्ञप्तिमा भनिएको छ।
यस परिस्थितिमा रुसी सङ्घको सशस्त्र बलले नेटो विशेषज्ञको सहयोगमा सञ्चालित ड्रोनको डिजाइन, उत्पादन र प्रयोगस्थल लगायत किभस्थित रक्षा उद्योगमा व्यवस्थित आक्रमण सुरु गर्ने जनाइएको छ। निर्णय केन्द्र र कमान्ड पोस्टमा पनि आक्रमण गरिने रुसले स्पष्ट पारेको छ।
किभभर छरिएर रहेका यी संरचनालाई लक्षित गरिने भन्दै रुसले विदेशी कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका कर्मचारीलाई सकेसम्म चाँडो शहर छाड्न र सर्वसाधारणलाई सैन्य तथा प्रशासनिक पूर्वाधार नजिक नजान चेतावनी दिएको छ।





