मनसुन पूर्वतयारी : हुम्लामा तीन सुरक्षा निकायद्वारा विपद प्रतिकार्य अभ्यास प्रदर्शन

हुम्ला — जिल्लाका तीनवटै सुरक्षा निकायले मनसुन भित्रिनुअघि सुरक्षित रहने सन्देश प्रवाह गर्न विपद प्रतिकार्य पूर्वतयारी अभ्यासको प्रदर्शनी गरेका छन्।
शत्रुभञ्जन गुल्म रानीबनको अगुवाइमा सोमबार सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले उक्त अभ्यास प्रस्तुत गरेको गुल्मपति हरिबाबु श्रेष्ठले जानकारी दिए। मनसुन भित्रिने समय भएकाले सर्वसाधारणदेखि सबैलाई सम्भावित विपद्बाट सुरक्षित रहन सचेत गराउन प्रदर्शनी गरिएको उनले बताए।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले उक्त अभ्यासमा चार प्रकारका प्रदर्शन गरेका थिए। जसमा आगलागी नियन्त्रण, पहिरोमा पुरिएका पीडितको उद्धार, अग्लो भीरबाट लडेर घाइते भएका बिरामीको उद्धार गर्ने तरिका र खोला किनारमा पुलको व्यवस्था नभएको अवस्थामा डोरीको सहायताले अग्लो स्थानबाट वारपार गर्ने तरिका समावेश थिए। यसले मनसुनका बेला उद्धार कार्यमा सहजता ल्याउने विश्वास गरिएको छ।
कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले यस्तो प्रदर्शनी आवश्यक रहेको बताउँदै विपद्बाट जोगिन हुम्लाको भौगोलिक अवस्थाले असहज बनाएको उल्लेख गरे। यस्ता अभ्यास ग्रामीण स्तरमा पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले विपद खबर गरेर नआउने भएकाले बेलैमा सचेत रहनुपर्ने बताए। मनसुनजन्य विपदका बेला उद्धार सामग्रीको अभाव रहेको उल्लेख गर्दै उनले स्थानीय गाउँपालिकाले यसको व्यवस्थापन गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राजनीतिक दलका नेता तथा नागरिक समाजलगायतको उपस्थिति रहेको थियो।





