५ असार २०८३, शुक्रबार

जापानी सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक — जापानको सहयोगमा बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोलासम्मको सडकखण्डको आजदेखि पुनर्निर्माण सुरु गरिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरे।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा सो सडकखण्ड अन्तर्गत तीन दशमलव दुई किलोमिटर सडकको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार २०८१ असोज १२ को बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीका करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ।

पिप्ले–बर्खेखोला सडकखण्डको पुनर्निर्माणको जिम्मा जापानस्थित सिमिजु कर्पोरेसनले लिएको छ। योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर हाल निर्माण सुरु गरिएको हो। यसअघि जाइका टोलीले पूर्वतयारी स्वरूप क्याम्प निर्माण, अस्थायी बाटो निर्माण लगायतका काम गरिसकेको छ।

योसहित हाल बिपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन रहेको छ। यसअघि काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीन सडकखण्डमा हालसम्म कुल २५ प्रतिशत काम सम्पन्न भएको योगेशले बताए। २०८१ असोजको बाढीपहिरो तथा २०८२ को वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पूरा गरी स्थायी पुनर्निर्माण थालिएको हो।

क्षतिग्रस्त विभिन्न स्थानमा आरसिसी पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलामा प्लम्प पर्खाल तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि आरसिसी पर्खाल निर्माण सुरु गरिएको योगेशले जानकारी दिए। यस्तै डालाबेँसी, मङ्गलटार खण्ड र चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ। गत वर्ष र यस वर्षको बाढीले पूर्ण क्षति भएका स्थानमा बाढी प्रतिरोधी संरचना निर्माणको डिजाइन गरिएको छ।

यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण, सडक चौडा गर्ने लगायत काम सम्पन्न गरिने र आगामी वर्ष बाँकी स्थानमा संरचना निर्माण गरी कालोपत्रेसहित कामलाई तीव्रता दिइने योगेशले बताए। पुनर्निर्माण अन्तर्गत राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको छ। “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको बनाइनेछ,” योगेशले भने। उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना रहेको छ।

डालाबेँसीदेखि चारसयबेँसीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एभन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाखमा ठेक्का पाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button