८ असार २०८३, सोमबार

“सफाइ होइन, सत्य हो” : जनआस्थाका प्रधानसम्पादक श्रेष्ठको स्पष्टीकरण

काठमाडौं — जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आफूमाथि लागेका आरोपहरूप्रति भन्दै आएको छ, “सफाइ होइन, सत्य हो।” उनले चिनियाँ सिमकार्ड प्रयोगमार्फत नेपाली सञ्चारमाध्यमलाई ट्र्याप गरी यहाँका पदाधिकारी र सञ्चारप्रणालीमाथि आक्रमण गर्न खोज्ने केही विदेशी पात्रलाई आफूहरूले नै कार्यालयमा आउने वातावरण सिर्जना गरेको बताएका छन्।

श्रेष्ठका अनुसार उनीहरूले संकलन गरेको सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा सरकारले मुख्य दोषी पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ र त्यसमा आफूहरूको पूर्ण साथ र सहयोग रहेको छ। उनले भने, “देशले चिनेका दीपक भट्ट, सुलभ अग्रवालहरूले अर्बौं राजस्व ठगेको खबर ब्रेकिङ गर्ने हामीले चिन्दै नचिनेका रहस्यमय पात्रहरूसँग खुसुक्क क्यूआर कोड, बैंक खाता र मान्छे पठाएर ५० हजार नगद मगाएको छैन, हैन।”

प्रधानसम्पादक श्रेष्ठले सरकारले दोषीलाई पक्राउ गरेर तिनका उपकरणबाट सम्पादित नभई पूर्ण संस्करणको अडियो र लिखित सञ्चार बरामद गर्नेमा आफू ढुक्क रहेको बताए। उनले शुक्रबार बेलुका उपहार पठाउने व्यक्तिलाई कार्यालयमै आउने वातावरण सिर्जना गरेर लगत्तै नेपाल प्रहरीलाई लिखित र हुलियासहितका अन्य प्रमाण उपलब्ध गराएको दाबी गरे। “यसको सारा अभिलेख नेपाल प्रहरीसँग छ। यो उत्खनन् अरूले गरेको होइन, हामीले हो,” उनले भने।

श्रेष्ठले आफूहरूले उपहार ग्रहण नगर्ने र तिनका आपराधिक गतिविधिमा कुनै साथ सहयोग नदिने लिखित जवाफ तत्कालै फर्काएको तथा बिदाकै दिन भए पनि प्रहरीमा आठ पृष्ठको उजुरी दर्ता गराएको जानकारी दिए। उनका अनुसार त्यसको भोलिपल्ट आइतबार दिउँसो १२ बजेदेखि तिनले मधेस र विदेश मूलका केही पात्रमार्फत सम्पादित सामग्री एकैचोटी फैलाएर भ्रमको खेती सुरु गरेको सिक्वेन्सले नै धेरै कुरा प्रस्ट हुने बताए।

“गिफ्ट हामीले पठाऊ भनेको छैन, सुधन गुरुङ वा अन्य कुनै पनि पात्रलाई ठेगान लगाउन र राष्ट्रघात गर्न मन्जुर छौं भनेको छैन,” श्रेष्ठले भने, “सुधन गुरुङसँग हाम्रो न हिजो कुनै साइनो थियो न आज कुनै सम्पर्क नै छ। राज्यको पदाधिकारीका हैसियतमा गरिएको पेसागत खबरदारी मात्र हो हाम्रो समाचार।”

उनले १० लाख दिने प्रलोभनलाई कहिल्यै स्वीकार नगरेको स्पष्ट पार्दै भने, “५० हजार पठाएको चुपचाप स्वीकारेर तिनीहरूसँग सहकार्य गर्न तयार भएको भए सायद यो प्रकरण बाहिर आउने थिएन, देश युग युगसम्म गुमराहमै रहने थियो।” उनले भ्रमको खेती चलाउनेहरूले आफूले स्थापित गर्न खोजेको “घुस” के हो भनेर प्रस्ट पार्नुपर्ने चुनौती दिए।

श्रेष्ठले सुधन गुरुङलाई ध्वस्त पार्ने, शेरबहादुर देउवालाई नेपाल ल्याएर केपी ओलीसँग भेटाई वर्तमान सरकारविरुद्ध नयाँ खेल सुरु गर्ने जस्ता कुरा गर्न थालेपछि शंका लागेर आफूले चिनियाँ सिम कसका नाममा र कहाँ दर्ता छ भनी पत्ता लगाई प्रहरीलाई अनुसन्धानका लागि बेलैमा जानकारी दिएको बताए। “खोजी पत्रकारितामा तीन दशक बिताएको हामीलाई यस प्रकरणमा पनि केही न केही सुराक पक्कै चाहिएको थियो,” उनले भने, “हामीले सुरुमै फोन ब्लक गरिदिएको भए उक्त षड्यन्त्रका मतियारको हुलिया र अरू प्रमाण जुट्न र तिनको मुखुण्डो उतार्न कति सम्भव हुन्थ्यो?”

उनले आज उपहार भन्दै रक्सीको बोतलमुनि नगद राखेर पठाउनेले भोलि त्यस्तै झोलामा जसकसैको नाममा लागूऔषध र विस्फोटक पदार्थको झोला हालिदिन सक्ने चेतावनी पनि दिए।

“जनआस्थाले व्यक्तिगत रूपमा न हिजो केपी ओली, शेरबहादुर देउवा, प्रचण्डबारे लेख्यो न आज अरूबारे लेखेको छ। प्रणाली नबिग्रियोस्, नभत्कियोस् भनेर हरेकलाई खबरदारी गरेको छ, गरिरहने छ,” श्रेष्ठले भने, “यो हरेक नागरिक र अझ जिम्मेवार सञ्चारकर्मीको दायित्वभित्र पर्ने कुरा नै हो।”

अन्त्यमा उनले भने, “जतिसक्दो छिटो यो प्रकरणको निप्टारा हुनैपर्छ। बूढी मरी भनेर ताली बजाउनेभन्दा काल पल्केकोमा चिन्ता गर्ने बेला छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button