कांग्रेसद्वारा संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश नेतृत्वको सर्वपक्षीय आयोग गठनको माग

काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले सत्ता वरिपरिको बहसले मात्रै संविधान संशोधनको विषय मान्य नहुने बताउँदै विज्ञहरूसहित पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्न माग गरेका हुन्।
“संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्रै सीमित रहनु हुँदैन। यसका लागि पूर्वप्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ,” उनले भने।
नेता केसीले संविधानलाई सबैको साझा दस्तावेज बनाउनका लागि त्यसको बहसलाई राष्ट्रिय बहसको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले सरकारले एकलौटी रूपमा अघि बढाएको संविधान संशोधन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै सबै पक्षको सहभागिता र स्वामित्व सुनिश्चित गर्न आयोग गठन अपरिहार्य रहेको धारणा राखे।





