सिचाङ प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट, कनेक्टिभिटी र लगानीमा छलफल

काठमाडौं — जनवादी गणतन्त्र चीनको सिचाङ स्वायत्त क्षेत्रीय जनसरकारका उपाध्यक्ष महामहिम चाओ पेङ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री माननीय शिशिर खनालसँग शिष्टाचार भेट गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सम्पर्क सञ्जाल, पूर्वाधार विकास, सीमापार व्यापार, लगानी, कृषि, पर्यटन र जनस्तरीय सम्बन्धलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
डिजिटल अर्थतन्त्र, सूचना तथा सञ्चार प्रविधि र जलविद्युत् जस्ता क्षेत्रमा रचनात्मक र अग्रगामी सहकार्य अघि बढाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ। दुई पक्षीय लामो समयदेखिको मैत्रीपूर्ण साझेदारीलाई थप गहिरो बनाउने र पारस्परिक हितका नयाँ क्षेत्रहरूको खोजी गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका थिए।
सोमबार ल्हासाबाट काठमाडौं आइपुगेको पाँच सदस्यीय प्रतिनिधिमण्डलमा पाओ थिङ, त चेन, क लिए, वु काङ र सिरेन याङ्जी सदस्य रहेका छन्। चीनमा प्रान्तीय सरकारका उपाध्यक्षको हैसियत उपमन्त्रीस्तरको मानिन्छ।
यसअघि मंगलबार नै प्रतिनिधिमण्डलले सिंहदरबारमा राष्ट्रिय सभा उपाध्यक्ष लीलाकुमारी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो। उक्त भेटमा नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा र अन्तरसंसदीय सहकार्यका विषयमा छलफल भएको थियो। भेटका क्रममा उपाध्यक्ष भण्डारीले नेपाल एक–चीन नीतिप्रति दृढ रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएकी थिइन्।
यो भ्रमणलाई नेपाल–सिचाङ सहकार्यलाई पुनर्जीवित गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ, विशेषगरी सीमा–केन्द्रित सहकार्य, व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन र हिमालयपार सम्पर्क सञ्जालका क्षेत्रमा। यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिमण्डलको भेट भएको जानकारी हालसम्म सार्वजनिक भएको छैन।





