५ असार २०८३, शुक्रबार

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिरमा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार परम्पराअनुसार आज मध्यराति १२ बजे जल चढाएर विशेष पूजाअर्चना गरिनेछ। सोही धार्मिक विधिसँगै मेलाको औपचारिक सुरुवात हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिनुभयो।

बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित छ। यहाँ दर्शन तथा पूजाआजाका लागि कैलाली, कञ्चनपुरसहित प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन्। गङ्गादशहराका अवसरमा भक्तजनको चहलपहल अझ बढ्ने गरेको छ।

परापूर्वकालमा उक्त स्थानमा शिवलिङ्ग प्रकट भएको धार्मिक विश्वासका आधारमा मन्दिर स्थापना गरिएको कथन रहिआएको छ। मन्दिरको दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। विशेष गरी पुत्रलाभ, सङ्कटमोचन तथा पारिवारिक सुख–शान्तिका लागि भक्तजनले बेहडाबाबाको दर्शन गर्ने परम्परा रहेको स्थानीय बताउँछन्।

मेलामा आउने भक्तजनको सहजताका लागि सडक मर्मत, बत्ती जडान तथा अन्य व्यवस्थापकीय तयारी पूरा गरिएको आयोजक व्यवस्थापन समितिले जनाएको छ। बेहडाबाबा मन्दिरमा नेपालका विभिन्न स्थानसँगै छिमेकी मुलुक भारतका विभिन्न क्षेत्रबाट समेत भक्तजन आउने गर्छन्।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गङ्गादशहरा यहाँको महत्वपूर्ण धार्मिक पर्वमध्ये एक भएको बताउनुभयो। उहाँका अनुसार मेलामा सहभागी हुने भक्तजनको सुविधाका लागि उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ भने निःशुल्क बस सेवा पनि सञ्चालन गरिएको छ।

आजदेखि सुरु भएको गङ्गादशहरा मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button