१४ असार २०८३, आईतवार

भारतीय राष्ट्रपतिको तीनदिने सिक्किम भ्रमण आजदेखि, नाथु ला र सिक्किम प्रहरीलाई प्रहरी कलर प्रदान कार्यक्रममा सहभागी हुने

गान्तोक — भारतका राष्ट्रपति आजदेखि तीनदिने औपचारिक भ्रमणका लागि सिक्किम आउँदै छन्। मे २६ देखि २८ सम्म हुने भ्रमणका क्रममा राष्ट्रपतिले गान्तोकसहित नाथु ला दर्रासम्मको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको पहिलो दिन सोमबार राष्ट्रपति लिबिङ हेलिप्याडमा ११ बजे आइपुग्नेछन्। त्यसपछि दिउँसो ४ बजे रिज पार्कमा पिंक सिटी रनर्सको झण्डा प्रदान समारोहमा सहभागी हुनेछन्। सोही दिन साढे ४ बजे अर्किडेरियम र ५ बजे देउराली रोडस्थित नामग्याल इन्स्टिच्युट अफ तिब्बतोलोजीको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपतिले बिहान ९ बजे भारत–चीन सीमामा अवस्थित ऐतिहासिक नाथु ला दर्राको भ्रमण गर्नेछन्। त्यसपछि दिउँसो साढे ३ बजे मनन भवन, गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्नेछन्।

तेस्रो तथा अन्तिम दिन बुधबार बिहान साढे ८ बजे पाल्जोर स्टेडियममा आयोजित विशेष समारोहमा राष्ट्रपतिले सिक्किम प्रहरीलाई ‘प्रेसिडेन्ट अफ इन्डिया पुलिस कलर’ प्रदान गर्नेछन्। उक्त अवसरमा परेड र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।

भ्रमणका सबै कार्यक्रमहरू युट्युबमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। यसका साथै सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोह र सिक्किम प्रहरीलाई प्रहरी कलर प्रदान समारोहमा राष्ट्रपतिले दिने सम्बोधन दूरदर्शनमा प्रत्यक्ष प्रसारण हुनुका साथै सूचना तथा जनसम्पर्क विभाग (आईपीआरडी) का आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममार्फत पनि प्रसारित हुनेछ।

सिक्किम सरकारले भ्रमणलाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने मान्यताप्राप्त सञ्चारकर्मीहरूलाई कार्यक्रम स्थलमा निर्धारित समयभन्दा कम्तीमा ४५ मिनेट अगाडि उपस्थित हुन निर्देशन दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button