२७ जेष्ठ २०८३, बुधबार

काठमाडौँमा जुट्दै २६ देशका सगरमाथा आरोही

काठमाडौँ । विश्वका २६ देशका सगरमाथा आरोहीहरू काठमाडौँमा भेला हुने भएका छन्। दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ यही जेठ १३ गते काठमाडौँमा आयोजना हुन लागेको हो।

एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीलाई सम्मान गरिनेछ।

एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालका अनुसार यस वर्ष विश्वका २६ देशका १७६ जना सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिनेछ। उहाँले गत वर्षदेखि सगरमाथा आरोहीको साहस, योगदान र उपलब्धिलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो।

नेपालका अनुसार पहिलो संस्करण सफल र प्रभावकारी रूपमा सम्पन्न भएपछि कार्यक्रमको महत्व र दायरा अझ बढेको छ। उहाँले ‘एभरेस्ट समिटर्स समिट’ अब नेपालमा मात्र सीमित नभई विश्वभरका सगरमाथा आरोहीलाई जोड्ने अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकास हुँदै गएको बताउनुभयो।

यस वर्षको कार्यक्रम नेपाल सरकारको प्रत्यक्ष सहकार्य र समन्वयमा हुन लागेकाले यसको गरिमा अझ बढेको आयोजकको भनाइ छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यले कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको अद्वितीय साहस, समर्पण र योगदानको कदर गर्नु रहेको छ। सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि मात्र नभई साहस, धैर्य, अनुशासन र मानव क्षमताको उच्च प्रतीकका रूपमा लिइन्छ।

आयोजकका अनुसार ‘एभरेस्ट समिटर्स समिट–२०२६’ ले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ। सगरमाथा र हिमालय क्षेत्रलाई विश्वमाझ थप प्रभावकारी रूपमा चिनाउन, आरोही समुदायबीच अनुभव आदानप्रदान गराउन र साहसिक पर्यटनको सम्भावना विस्तार गर्न कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।

हिमालयको भविष्य, पर्वतीय वातावरण, जलवायु परिवर्तन, सुरक्षित आरोहण र दिगो पर्वतीय पर्यटनजस्ता विषयमा साझा आवाज निर्माण गर्न पनि यस्ता मञ्च आवश्यक रहेको आयोजकको भनाइ छ। कार्यक्रमले सगरमाथा आरोहीहरूलाई सम्मान गर्ने मात्र नभई हिमालय संरक्षण र पर्वतीय पर्यटनको भविष्यबारे बहस अघि बढाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button