५ असार २०८३, शुक्रबार

मुस्ताङका किसानलाई अनुदानमा कृषि यान्त्रिक उपकरण

मुस्ताङ । मुस्ताङका पाँच स्थानीय तहका किसानलाई खेतबारी जोत्न प्रयोग हुने हाते ट्रयाक्टरसहित विभिन्न कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्रयाक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण उपलब्ध गराएको हो। चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ‘जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम’ मार्फत किसानको मागका आधारमा उपकरण हस्तान्तरण गरिएको एकाइले जनाएको छ।

कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका अनुसार स्याउ र आलु जोनमा सूचीकृत किसानलाई कृषि यान्त्रिक उपकरण प्रदान गरिएको हो। पाँच स्थानीय तहका स्याउ तथा आलु जोनमा आबद्ध ५७ जना किसानलाई उनीहरूकै मागअनुसार ५० प्रतिशत अनुदान सहुलियतमा उपकरण हस्तान्तरण गर्न थालिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार मङ्गलबारदेखि उपकरण वितरण सुरु गरिएको हो। किसानको श्रम, समय र उत्पादन लागत घटाउँदै कृषि कार्यलाई सहज र प्रभावकारी बनाउन यान्त्रिक उपकरण सहयोग गरिएको एकाइको भनाइ छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा एकाइबाट १९ लाख रुपैयाँ र लाभग्राही किसानबाट १९ लाख रुपैयाँ गरी कुल ३८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको छ।

एकाइले स्याउ र आलु जोनमा सूचीकृत किसानलाई १ लाख २० हजार रुपैयाँ मूल्य पर्ने डिजेलबाट चल्ने १२ थान हाते ट्रयाक्टर, ८० हजार रुपैयाँ मूल्य पर्ने पेट्रोलबाट चल्ने १७ थान हाते ट्रयाक्टर र सानो खालका पेट्रोलबाट चल्ने दुई थान हाते ट्रयाक्टर गरी जम्मा ३१ थान हाते ट्रयाक्टर हस्तान्तरण गरेको हो।

मुस्ताङमा भौगोलिक कठिनाइ, श्रमिक अभाव र खेतीयोग्य जमिनको प्रकृतिका कारण कृषि यान्त्रिकीकरणलाई आवश्यक मानिँदै आएको छ। हाते ट्रयाक्टर तथा अन्य यान्त्रिक उपकरणको प्रयोगले खेतबारी जोत्न, बाली व्यवस्थापन गर्न र व्यावसायिक खेती विस्तार गर्न किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्याउ र आलु मुस्ताङका प्रमुख कृषि उत्पादनमध्ये पर्छन्। यी बालीको उत्पादन, प्रशोधन र बजारीकरणमा सुधार ल्याउन आधुनिक प्रविधि तथा उपकरणको प्रयोगलाई प्राथमिकता दिइँदै आएको छ। अनुदानमा उपलब्ध गराइएका उपकरणले किसानको उत्पादन क्षमता वृद्धि गर्ने र कृषि व्यवसायलाई थप व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button