२७ जेष्ठ २०८३, बुधबार

नेपालस्थित रुसी दूतावासको विशेष संस्मरण : हातले एभरेस्ट चढेका रुस्तम नाबिएभसँगको चिया गफ

काठमाडौं — नेपालस्थित रुसी दूतावासले आफ्नो सामाजिक सञ्जालमार्फत एक हृदयस्पर्शी संस्मरण सार्वजनिक गरेको छ, जसमा हालै एभरेस्ट आरोहण गरेका एक विशेष रुसी नागरिकको कथाले सबैको ध्यान तानेको छ।

दूतावासले लेखेको छ, “नेपालस्थित हाम्रो कूटनीतिक नियोगको एउटा सुखद विशेषता छ। हिमालयले विश्वभरिका चुचुरो विजेताहरू, रोचक व्यक्तित्वहरूलाई आकर्षित गर्छ। तिनमा हाम्रा धेरै अद्भुत स्वदेशी नागरिकहरू पनि छन्। हामी आरोहीहरूसँग कुराकानी गर्ने यो अवसरको भरपूर उपयोग गर्छौं।”

दूतावासले करिब डेढ महिनाअघि अलेक्जान्डर आब्रमोभको समूहलाई ‘विजय ब्यानर’ र ‘रुस–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष’ अंकित पताका हस्तान्तरण गरेको थियो। ती दुवै पताका एभरेस्टको चुचुरोमा गर्वका साथ फहराइएका तस्बिरहरू सार्वजनिक गरिएको थियो। बुधबार ती झण्डाहरू दूतावासमा फिर्ता आएका छन्। दूतावासले तिनलाई ऐतिहासिक धरोहरका रूपमा सुरक्षित राख्ने जनाएको छ।

को हुन् रुस्तम नाबिएभ?

तर, दूतावासको मुख्य ध्यान हिजो चिया पिउन आएका एक विशेष अतिथिमा केन्द्रित थियो, जसको नाम हो— रुस्तम नाबिएभ।

सन् २०१५ जुलाईमा ओम्स्कस्थित हवाई सैन्य प्रशिक्षण केन्द्रको ब्यारेक भत्किँदा रुस्तम दोस्रो तलाबाट पहिलो तलामा खसेका थिए। माथिबाट छत खस्दा उनी लामो समय भग्नावशेषमुनि थुनिए। उनको ज्यान त बच्यो, तर दुवै खुट्टा गुमाउनुपर्यो।

गरिब परिवारको युवक, दुवै खुट्टाविना— उनको भविष्य कस्तो होला? कति जना उनको स्थानमा हुँदा विचलित नहुन्थे होलान्? दूतावासले लेखेको छ, “उनको बाटो कठिन थियो। विस्तारमा जाँदैनौं। तर, छोटकरीमा भन्दा— यो व्यक्तिले गत मे २० मा एभरेस्टको चुचुरो चुम्यो… हातले!”

दूतावासले भन्यो, “के तपाईं यो कल्पना गर्न सक्नुहुन्छ? उनले यो गरेर देखाए।”

‘साधारण देखिने, तर असाधारण कर्म’

दूतावासका अनुसार रुस्तमसँगको कुराकानीका क्रममा कुनै ठूला शब्दहरू आदानप्रदान भएनन्। “किनकि, कहिलेकाहीँ मानवीय आत्माको योद्धालाई शब्दले न्याय दिन गाह्रो हुन्छ। तर, अहिले केही घण्टापछि लागिरहेको छ— हामीले यसलाई अझ ठूलो स्वरमा भन्नुपर्थ्यो,” दूतावासले भन्यो।

“हाम्रो अगाडि बाहिरी रूपमा एउटा साधारण, विनम्र पुरुष थियो। बाहिरी रूपमा मात्र। किनकि, हामीलाई वास्तवमै असाधारण बनाउने त हाम्रा कर्महरूले नै हुन्। रुस्तमले ती धेरै गरेका छन्। हामी तिनका लागि उनलाई धन्यवाद दिन चाहन्छौं। हामी चाहन्छौं— सबैले रुस्तमको बारेमा जानून्।”

दूतावासले रुस्तमको नाम सर्च इन्जिनमा खोजेर उनको जीवनकथाबारे थप जान्न सबैलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button