१३ असार २०८३, शनिबार

२३ वर्षपछि पुरानो घाउ कोट्याउँदै युवराज, प्रश्न गर्छन् किशोर—’किन चिहान उधिन्नुभयो मित्र?’

काठमाडौं — जनआस्था साप्ताहिक चौतर्फी आक्रमणको निशाना बनिरहेका बेला वरिष्ठ पत्रकार युवराज घिमिरेले २३ वर्ष पुरानो श्रीषा कार्की प्रकरणलाई पुनः सार्वजनिक बहसमा ल्याएपछि जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत घिमिरेलाई प्रश्न गरेका छन्— “आज जनआस्था निरन्तर खबरदारीका खबरहरू प्रकाशन गरेवापत चौतर्फी आक्रमणको निशाना बनिरहेको बेला वरिष्ठ पत्रकार युवराज घिमिरे अकस्मात किन चिहान उधिनेर वसुन्धरा दिदीलाई देशसञ्चारमा बोलाई आफ्नै सामुन्ने जनआस्थाविरुद्ध बकपत्र गराउन उद्यत हुनुभयो?”

उनले २०५९ साल असोज २३ गते जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारसँग जोडिएको घटनाक्रम स्मरण गराएका छन्। उक्त समाचारमा एक अभिनेत्रीको तस्बिर समावेश भएको थियो, जसबारे पत्रिकाले पटक–पटक क्षमा मागेको र दुई वर्ष मुद्दासँगै आजपर्यन्त तनाव व्यहोरेको श्रेष्ठको भनाइ छ। असोज २८ गते ती अभिनेत्रीको दुखद आत्महत्या भएको थियो।

श्रेष्ठका अनुसार त्यतिबेला कान्तिपुर दैनिकमा यस विषयमा धारावाहिक रूपमा एकपक्षीय सामग्री प्रकाशित भएका थिए। चलचित्र कलाकार संघकी तत्कालीन अध्यक्ष वसुन्धरा भुसालले प्रहरीमा उजुरी र दरबारमा पत्रिका बन्द गराउन जाहेरी दिएको उनले स्मरण गरे। पछि श्रीषा कार्कीको तस्बिर खिच्ने प्रहरी सब–इन्स्पेक्टर उद्धव भण्डारीले आफैंले अर्की अभिनेत्रीको सम्पर्कमार्फत घर लगेर तस्बिर खिचेको स्वीकार गरेको पनि श्रेष्ठले उल्लेख गरे।

श्रेष्ठले प्रश्न गरे, “श्रीषाको फोटो खिचेको, उनलाई हामीले फोन गरेको, पैसा मागेको— यति गम्भीर आक्षेप आफ्नो सञ्चार माध्यममार्फत प्रसारण गराइसकेपछि अब तपाईंले सोको प्रमाणसहित पुष्टि गर्न पर्दैन मित्र? आफैं सम्पादक भएको बेला के लेखिएको थियो भनेर हेक्का राख्नुपर्दैन?”

उनले घिमिरेलाई पटक–पटक फोन गर्दा नउठाएको र एक रात ९ बजे ‘कल ब्याक’ गर्ने सन्देश पठाएर गायब भएको पनि बताए। “जब तपाईंले २३ वर्षअगाडि श्रीषा प्रकरणमा लगातार एकपक्षीय सामग्री सम्प्रेषण गर्न थाल्नुभयो, हामीले नै आफ्ना भनाइ राखिदिन अनुरोध गरेपछि २२ मिनेटको भनाइ रेकर्ड गरेर १ सेकेण्ड र एक शब्द पनि स्थान नदिएको बिर्सनुभयो?” श्रेष्ठले भने।

उनले थपे, “तपाईंका त्यस्तै आग्रहपूर्ण समाचारको कारण हामीमाथि सांघातिक आक्रमण भएको भुल्नुभयो? सार्वजनिक अपराधसम्बन्धी कसुरअन्तर्गत हामीमाथि दर्ता भएको मुद्दालाई कर्तव्यज्यानमा परिणत गर्न तपाईंका लेखाइले बल पुर्याएको सम्झना छ कि छैन?”

श्रेष्ठले घिमिरेलाई उद्देश्यपूर्ण रूपमा जनआस्थाको लेखनयात्रामा ‘ब्रेक’ लगाउने अभियानमा संलग्न भएको आशंका व्यक्त गरे। “लोकले पत्रकारिताको गुरु मानेको तपाईंले पत्रकारिताको अलिकति मर्म राखिदिनु पर्दैन? तपाईंकै पुरानो लेखाइले तपाईंलाई गिज्याउँदैन? कि तपाईं पनि जनआस्थाको लेखनयात्रालाई कृष्ण सेन हत्याकाण्ड ताका झैं ब्रेक लगाउने मिशनमा जोडिइसक्नुभयो?” उनले प्रश्न गरे।

अन्त्यमा श्रेष्ठले भने, “बूढी मरी भन्दा पनि काल पल्केकोमा चिन्ता छ हामीलाई।” यो भनाइले पत्रकारिता क्षेत्रको गम्भीर अवस्थाप्रति उनको चासो झल्काएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button